‘द ब्ल्यू लाइट’ पोस्टरमा बारगर्लको बेनिसा

फिल्म । फिल्म ‘द ब्ल्यू लाइट’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टोलीले आइतबार फिल्मको पोस्टर सार्वजनिक गर्दै मुख्य कलाकारमध्ये एक बेनिसा हमालको चरित्रलाई प्रस्तुत गरेको हो । सार्वजनिक पोस्टरमा बेनिसालाई एउटा बारमा देख्न सकिन्छ । औंलामा चुरोट च्यापेर गहिरो तनावमा देखिएकी उनको प्रस्तुतिले फिल्ममा उनी एक बारगर्लको भूमिकामा रहेको सङ्केत गर्छ । निलो लाइटको संयोजन, उनको गेटअप, अनुहारमा झल्किएको तनाव र अगाडि रहेको रक्सीको कपले उनको चरित्रको जटिलतालाई दर्शाउँछ ।

यो पोस्टरले कसैबाट धोका पाएपछिको तनावपूर्ण अवस्थाको अनुमान गराए पनि निर्माण पक्षले यसबारे केही खुलाएको छैन । बेनिसाको भूमिका र फिल्मको कथाबारे क्रमशः जानकारी दिइने निर्माण टोलीले जनाएको छ । पोस्टरले काठमाडौंको रंगीन रात्रि जीवनभित्रको अँध्यारो पक्ष, तनाव र मनोविज्ञानको कथा प्रस्तुत गर्न सक्ने सङ्केत गरेको छ, यद्यपि यसको पूर्ण खुलासा भइसकेको छैन ।

गत बिहीबारबाट छायाङ्कन सुरु भएको यो फिल्म काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिनेछ र यसको छायाङ्कन तालिका २० दिनको रहेको छ ।

‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गरिरहेका छन् । प्रतिक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानको यो डेब्यु निर्देशन हो । यसअघि फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको थियो, जसमा निलो रङले घेरिएको वातावरणबीच एक बालिकालाई रहस्यमयी र विक्षिप्त मुद्रामा प्रस्तुत गरिएको थियो, जसले फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्काउँथ्यो ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने ‘द ब्ल्यू लाइट’मा बेनिसाका साथै अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानीको प्रमुख भूमिका रहनेछ । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको यस फिल्मका सह-निर्माता रमन ग्रे हुन् भने कार्यकारी निर्मातामा छायाङ्कार नरेन्द्र मैनाली र नायिका बेनिसा हमाल रहेका छन् । फिल्मको छायाङ्कन नरेन्द्र मैनालीले नै गर्नेछन् ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा छन् । निर्देशक चौहानका अनुसार ‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै प्रदर्शनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्