यश ‘रामायण’मा रावणको भूमिका

फिल्म । भारतीय सुपरस्टार यश पौराणिक कथामा आधारित फिल्म ‘रामायण’मा रावणको भूमिकामा देखिनेछन् । फिल्मको छायांकन सुरु भइसकेको छ र सेटबाट यशको पहिलो तस्विर सार्वजनिक भएको छ । तस्विरमा यश शक्तिशाली एक्सन मुडमा फिट र नयाँ शैलीमा रावणको अवतारमा देखिएका छन् ।

यो फिल्ममा यश अभिनेतामात्र होइनन्, सह-निर्माता पनि हुन् । नमित मल्होत्राको प्राइम फोकस स्टुडियो र यशको मोन्स्टर माइन्ड क्रिएशन्सले संयुक्त रूपमा निर्माण गरिरहेको यो फिल्मलाई ‘दंगल’ र ‘छिछोरे’ जस्ता हिट फिल्मका निर्देशक नितेश तिवारीले निर्देशन गर्दैछन् । ‘रामायण’को पहिलो भाग सन् २०२६ को तिहार र दोस्रो भाग सन् २०२७ को तिहारमा रिलिज हुने तय भएको छ ।

फिल्ममा हलिउडका प्रख्यात स्टन्ट निर्देशक गाय नोरिसले यशसँग काम गरिरहेका छन् । ‘म्याड म्याक्स: फ्युरी रोड’ र ‘द सुसाइड स्क्वाड’ जस्ता फिल्मका लागि चर्चित नोरिसले ‘रामायण’मा भव्य एक्सन दृश्यहरू तयार गर्दैछन् । यशले पहिलो भागका लागि ६० देखि ७० दिन छायांकन गर्ने बताइएको छ ।

‘रामायण’मा उत्कृष्ट एक्सन, उच्चस्तरीय भीएफएक्स, विशाल सेट र बलियो स्टार कास्ट रहनेछ। फिल्ममा यशसँगै रणवीर कपूर (राम), साई पल्लवी (सीता), रवि दुबे (लक्ष्मण), लारा दत्ता (कैकेयी), सनी देओल (हनुमान) र काजल अग्रवाल (मन्दोदरी) मुख्य भूमिकामा देखिनेछन् । यो फिल्मले नेपाली र भारतीय दर्शकका साथै विश्वव्यापी बजारमा समेत ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्