‘जन्ते बाख्रो’ मनोरञ्जनको प्याकेज हो – लेखक प्रदीप भारद्वाज

फिल्म । देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक फिल्म हो। हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम फिल्म ‘जन्ते बाख्रो’ मा देखिएको छ। ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहेको विद्यमान समयमा ग्रामीण जनजीवनसँग जोडिएको ‘जन्ते बाख्रो’ खुवाउने परम्परालाई आधार बनाएर फिल्म तयार गरिएको लेखक प्रदीप भारद्वाजले बताएका छन् ।

‘नयाँ विषय खोज्ने क्रममै आएको आइडिया हो, ‘जन्ते बाख्रो’। यो दुई प्रकारको हुन्छ, एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्र्याएपछि हुने भतेर (भोज) मा खाइन्छ। फिल्मको कथालाई यसै प्रसंगसँग जोडेर तयार गरिएको छ,’ उनले भने ।

पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ मा अपग्रेड भएका कारण पनि नयाँ पुस्तालाई संस्कृतिको विषयमा समेत फिल्मले जानकारी दिने लेखक भारद्वाजको विश्वास छ ।

‘विवाहमा जन्ती गएका पाहुनालाई बारी वा खुला ठाउँमा खुवाउने भोज संस्कार अहिलेको सहरिया नयाँ पुस्तालाई हाम्रो संस्कृति थाहाँ नहुन पनि सक्छ। किनकि आधुनिकीकरणले हाम्रो परम्परा र संस्कृतिलाई नयाँ स्वरूप दिएको छ। त्यसकारण हामी फिल्मकर्मीले हाम्रो संस्कृतिका विषयमा जानकारी दिनु पनि आवश्यक छ। तर, यो पूर्ण मनोरञ्जनात्मक फिल्म हो,’ उनले भने ।

उनले फिल्मको सार्वजनिक प्रचारप्रसार सामग्रीमा देखिएको ‘बोका’ को पनि महत्वपूर्ण भूमिका फिल्ममा रहेको बताए । उनले भने, ‘फिल्मको पहिलो दृश्यदेखि नै बोकाको प्रसंग जोडिएको छ, सोही कारण हामीले यसलाई प्रचारप्रसारमा अगाडि ल्याएका छौँ ।’

लेखक भारद्वाजका अनुसार नेपालको ग्रामीण समुदायमा प्रचलित कथावस्तुमा आधारित भई तयार भएको ‘जन्ते बाख्रो’ रमाइलो कमेडी फिल्म हो । यसमा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।

फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन् ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । निर्माण पक्षका अनुसार, फिल्म जेठ २३ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।

कमेन्ट गर्नुहोस्