नुवाकोटको बट्टारमा ‘शिवालय सिनेप्लेक्स’

फिल्म । विदुर नगरपालिका–४ बट्टारमा निर्माण गरिएको आधुनिक सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन भएको छ । फिल्मप्रेमी दर्शकहरूको मनोरञ्जनका लागि स्थापना भएको यो सिनेमा हल चलचित्र विकास बोर्डको पहलमा बन्द भएका हलहरूलाई मर्मत गरी पुन: सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो ।

उद्घाटन समारोह चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विदुर नगरपालिकाका पूर्व नगरप्रमुख सञ्जु पण्डित, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष बुद्धिबहादुर प्रधान, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपाल कायस्थलगायत चलचित्रकर्मी, व्यवसायी, सञ्चारकर्मी र स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

२ सय ४० सिट क्षमताको यो सिनेप्लेक्स स्थानीय युवा उद्यमीहरू सन्तोष सरगम अधिकारी (विदुर–१२, चारघरे) र पासाङ लामा गोपाल (विदुर–४, बट्टार) को संयुक्त लगानीमा सञ्चालनमा आएको हो । हलमा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्चस्तरीय ध्वनि, वातानुकूलित वातावरण, आरामदायी सिटहरू र अनलाइन बुकिङ सुविधा उपलब्ध छन् । सञ्चालकहरूका अनुसार, प्रत्येक शनिबार चार शो र अन्य दिनमा तीन शो प्रदर्शन गरिनेछ ।

शिवालय सिनेप्लेक्सले नेपाली फिल्मको प्रवर्द्धनलाई प्राथमिकता दिने र मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यो हलको सञ्चालनले नुवाकोटका दर्शकहरूलाई स्थानीय स्तरमै आधुनिक फिल्म हेराइको अनुभव प्राप्त हुने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्