फिल्म । प्रदर्शन भइरहेको फिल्म ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षको दावी छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । उनीहरुले दोस्रो सातामा प्रवेश गर्दै गर्दा पनि करिब २ सय शो पाएको छ ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ ।
यसको पछिल्लो रिलिज गीत ‘चाइनेजो जिन्दगानीमा’ गीतले युट्युब र टिकटकमा रुचाइएको छ । त्यसअघि सार्वजनिक भएका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले पनि करोडौँ श्रोताको मन जितिसकेका छन् ।
यसैबीच, हलमा दर्शकको उत्साहजनक उपस्थिति कायम रहँदा दोस्रो साताबाट देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण थालिने भएको छ । निर्देशक चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।












