फिल्म । अभिनेत्री शिल्पा मास्के फिल्म ‘जलाकी’ को टोलीमा जोडिएकी छन् । तर उनको भूमिकाबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन । शिल्पालाई दर्शकहरूले पछिल्लो पटक गत वर्ष भदौमा प्रदर्शन भएको फिल्म ‘देवी’ मा देखेका थिए । यद्यपि, उक्त फिल्मले बक्सअफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेन । ‘जलाकी’ को निर्देशन अशोक थापा मगरले गर्दैछन्, जसले यसअघि ‘खुस्मा’ फिल्म बनाएका थिए ।
फिल्मको पहिलो चरणको छायाङ्कन अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनलाई लिएर सम्पन्न भइसकेको छ । दोस्रो चरणको छायाङ्कनका लागि केही समयअघि अभिनेता धीरज मगर पनि फिल्ममा अनुबन्धित भएका थिए । ‘जलाकी’ मा आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, खड्क बहादुर पुन (खबपु) लगायतका अन्य कलाकारहरूको पनि अभिनय रहनेछ ।
शैलेन्द्र डि. कार्कीले छायाङ्कन गर्ने यस फिल्मको निर्माताहरूमा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्मको छायाङ्कन नेपालसँगै दक्षिण कोरियामा समेत गरिनेछ । ‘जलाकी’ शब्दले मगर समुदायको आस्थाको प्रतीकको रूपमा रहेको ढुंगाले चिनेको स्तम्भलाई जनाउँछ ।












