निर्देशक नोर्बुले सकाए फिल्मको छायांकन

फिल्म । ‘जात्रा’ शृंखलामार्फत फिल्म निर्माणमा स्थापित व्यानर बनेको षट्कोण आर्ट्सको निर्माणमा ‘दुलही’ को छायांकन सम्पन्न भएको छ । निर्माता माक्स दीपेश खत्रीले फिल्मको छायांकन २६ दिनमा सकिएको जानकारी दिए ।

‘जात्रा’कै सिरिज आउँछ कि अन्य कुनै नयाँ फिल्म भन्ने विषयमा चर्चा भइरहदा निर्माण षट्कोण आर्ट्सले निर्माण गरेको यो फिल्म फरक छ । यसलाई बौद्ध धर्मका गुरु तथा निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले निर्देशन गरेका छन् ।

‘दुलही’ शीर्षकमा छायांकन भइरहेको उक्त फिल्म नेपालभन्दा अगाडि विदेशमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ । उक्त फिल्ममा कमलमनी नेपाल, बिनिता रानामगर लगायतका कलाकारको अभिनय रहेको बुझिएको छ । नेपाल बाहिर यो फिल्म ‘ब्राइड’ शिर्षकमा प्रदर्शन हुने बुझिएको छ ।

निर्देशक नोर्बुद्वारा निर्देशित सन् १९९९ मा उनले बनाएको पहिलो फिल्म ‘द कप’ कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो । उनको दोस्रो फिल्म ‘ट्राभल्र्स एन्ड म्याजिसियन्स’ पनि चर्चित थियो । २०१७ मा उनले बनाएको ‘हिमा हिमा : सिंग मी अ सङ ह्वाइल आई वेट’ लोकार्नो र टोरन्टो फिल्म फेस्टिभलमा प्रदर्शन गरिएका थिए । २००७ मा प्रकाशित उनको पुस्तक ‘ह्वाट मेक्स यु नट अ बुद्धिस्ट’ संसारभर निकै पढिएको पुस्तक मानिन्छ ।

यसैगरी, षट्कोण आर्ट्सले दुई नयाँ फिल्म ‘महारानी’ र ‘सटाहा’ निर्माण गर्ने तयारी थालेको छ । दर्ता गरिएको दुई फिल्म मध्ये यम थापाको निर्देशनमा बन्ने ‘महारानी’ को छायांकन पहिला हुने बुझिएको छ ।

कमेन्ट गर्नुहोस्