फिल्म । अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौतको निर्देशन तथा मुख्य भूमिका रहेको फिल्म ‘इमर्जेन्सी’ फेरि कानुनी विवादमा परेको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार पत्रकार तथा लेखिका कुमी कपुरले फिल्म निर्मातामाथि ऐतिहासिक तथ्य तोडमरोड गर्दै प्रस्तुत गरेको भन्दै मुद्दा दायर गरेकी छिन् । उनले कंगनाको प्रोडक्सन कम्पनी मणिकर्णिका फिल्म्स प्रालि र स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्समाथि आफ्नो पुस्तक ‘द इमर्जेन्सी: ए पर्सनल हिस्ट्री’ र नामको दुरुपयोग गरेको आरोप लगाएकी हुन् ।
कपुरका अनुसार उनले पहिले नै मणिकर्णिका फिल्म्स र पेन्गुइन र्यान्डम हाउससँग आफ्नो पुस्तकलाई फिल्ममा रुपान्तरण गर्ने सम्झौता गरेकी थिइन् । सम्झौताअनुसार फिल्म निर्मातालाई विषयवस्तुमा केही हदसम्म रचनात्मक स्वतन्त्रता भए पनि ऐतिहासिक तथ्यहरूलाई तोडमरोड गर्ने अनुमति थिएन । त्यस्तै, लेखकको नाम र कृति बिना अनुमति प्रचारप्रसार र व्यापारिक प्रयोगमा प्रयोग गर्न नपाइने शर्तसमेत सम्झौतामा समावेश रहेको उल्लेख छ ।
तर, ती सबै सर्तहरूको उल्लंघन भएको आरोप लगाउँदै कपुरले अप्रिल ३ मा कानुनी नोटिस पठाएकी थिइन् । सो नोटिसप्रति कंगनाको टोली वा नेटफ्लिक्सबाट कुनै प्रतिक्रिया नआएपछि उनले अदालतमा मुद्दा हालेकी हुन् ।
उनको दाबीअनुसार निर्माताहरूको लापरवाही र गैरकानूनी गतिविधिका कारण आफू व्यक्तिगत, व्यावसायिक, भावनात्मक र आर्थिक रूपमा क्षतिग्रस्त भएकी छिन्। उनले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि दर्ता गरेकी छन् ।











