फिल्म । दीपक लम्सालको लगानीमा फिल्म ‘हे माया’ निर्माण हुने भएको छ । आगामी जेठबाट छायांकन तयारी सहित फिल्मको निर्माण घोषणा गरिएको हो । अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमती भैसकेपनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने तयारी भैरहेको निर्माता लम्सालले बताए ।
निर्माता लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय फिल्मको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका छन् । उनले बलिउड फिल्म नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली फिल्म निर्माणमा हात हाल्न लागेका हुन् ।
रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मलाई जुनिम गहतराजले निर्देशन गर्ने भएका छन् । उनले निर्माण तथा निर्देशन गरेको फिल्म ‘ताण्डवम्’ हालै प्रदर्शनमा आएको थियो । ‘ताण्डवम्’मा जुनिमको निर्देशकिय क्षमता हेरेर नै आफ्नो फिल्म निर्देशनमा जिम्मेवारी सुम्पेको निर्माता लम्सालले बताए ।
यसको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन् । नेपाली नयाँ वर्ष सुरु भएसँगै सिनेमाको कास्ट एण्ड क्रिउ सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।












