सकियो ‘जेरी अन टप’को छायांकन

फिल्म । अनमोल केसी, आँचल शर्मा र केदार घिमिरेले आगामी फिल्म ‘जेरी अन टप’को छायांकन सकेका छन् । ६० दिनमा हिमालपारिको जिल्ला मुस्ताङमा छायांकन सम्पन्न भएको निर्माता सरोज न्यौपानेले बताए । फिल्मको सबै दृश्य खिचिएपनि बाँकी दुई गीतको छायांकन भारतको दक्षिणपूर्वी सामुन्द्रीक तटीय सहर पोन्डीचेरी र अर्को गीत काठमाडौंमा हुनेछ । यसअघि भारतको लद्दाखमा खिच्ने भनिएको एक गीतको सुटिङ मुस्ताङमै गरिएको छ ।

यसअघि सम्बोधन, ग्याङस्टर ब्लुज, ब्रेकअप जस्ता फिल्म निर्माण गरेका सरोज न्यौपानेले भने, ‘दृश्य सबै छायांकन सकियो, हामीले भावनात्मक कथासँगै आँखालाई शितलता दिने दृश्य खिचेका छौं।’ सगरमाथा क्षेत्रको लुक्ला र मुस्ताङमा यो रोमान्टिक रोडट्रिप फिल्मको छायांकन पुरा भएको हो । छायांकन सकिँदासम्म फिल्मको बजेट झण्डै ६ करोड पुगेको न्यौपानेले बताए ।

निर्माताले हङकङको एलजी एसोसिएसनलाई अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार न्यूनतम सुनिश्चितता (एमजी)मा बिक्री गरेका छन् । विदेशको सबै राइटबाट लगानीको आधा रिकभर हुने हिसाब निर्माताको छ । अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्