डायस्पोरामा बढ्यो ‘अञ्जिला’को माग, क्यानडामा प्रदर्शन हुँदै

फिल्म । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ क्यानडामा प्रदर्शन हुने भएको छ । गएको होलीलाई लक्षित गर्दै गत फागुन २९ मा नेपालमा प्रदर्शन भएको फिल्मले नेपालमा पाएको दर्शकको माया र प्रतिक्रियाका कारण यसको डायस्पोरामा पनि माग बढ्दो छ । नेपाल प्रदर्शन अगाडी केही देशमा प्रिमियर गरिएको फिल्म अब भने नियमित प्रदर्शन हुन् लागेको हो ।

आउँदो महिना अप्रिलमा यसको प्रदर्शन क्यानडामा हुने भएको छ । दर्शकको उच्च मागको कारण आगन इभेन्ट्स र आइ र यु इन्टरटेनमेन्टले ‘अञ्जिला’ लाई क्यानडामा प्रदर्शन तथा वितरण गर्न लागेको जिआर भण्डारीले जानकारी दिए । उनले क्यानडाको टोरोन्टो, मिसीसागा, क्यालगेरी, भ्यान्कोभर लगायतका विभिन्न सहरमा प्रदर्शन हुने बताए ।

उनले भने,‘नेपाल झैँ यहाँ क्यानडामा पनि नेपाली फुटवल र अञ्जिलालाई माया गर्ने धेरै छौँ । हाम्रो महिला कप्तानको कथालाई हेर्न यहाँ माग भएपछि मसहितका केही साथी मिलेर क्यानडा ल्याएका छौं । यहाँको हरेक सहरमा हामी फिल्म प्रदर्शन गर्दैछौं ।’

उनले केही सहरमा फिल्मको प्रदर्शनको डेट तय भएको र केहीमा छिटै टुङ्गो लागेपछि घोषणा गर्ने बताए । भण्डारीसहित श्याम अर्याल र निश्चल पौडेलले ‘अञ्जिला’ क्यानडा भित्र्याएका हुन् ।

यसका साथै नेपाल इलेभेन इन्टरटेनमेन्टले संयुक्तराज्य अमेरिका, माल्टामा यही मार्च २९ र ३० मा मगवर्ट प्रोडक्सन, जापानमा युएनए इन्टरटेनमेन्ट, संयुक्त अरब इमिरेस्ट, बहराइ र कतारमा मार्च २७ देखि साथीभाई इन्टरटेनमेन्ट्स लगायतका देशमा प्रदर्शन तय भएको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । उनले अमेरिका, क्यानडा, फिनल्याण्ड, दक्षिण कोरिया,हङकङ लगायतमा छिटै शो घोषणा हुने जानकारी दिए ।

निर्देशक मिलन चाम्सले दिनानुदिन शो सङ्ख्यासँगै दर्शक पनि बढिरहेको बताए । ‘यो माया र विश्वासले उर्जा थपेको छ । फिल्म हेर्ने ८३ वर्षसम्मको आमा देखेको छु । उहाँहरू फिल्म हेरेर निस्किदा खुसी भएको देख्दा सन्तुष्टी मिलेको छ, दर्शक हलसम्म ल्याउएर खुसी बनाएर फिर्ता पठाउन पाउँदाको क्षणलाई शब्दमा व्यक्त गर्न सक्दिन्’, उनले भने ।

टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा पनि ‘अञ्जिला’को प्रशंसा भइरहेको छ, जसले लोकप्रियतालाई बढाइरहेको छ । शीर्ष भूमिकामा कप्तान सुब्बा आफैले अभिनय गरेकी छिन् । फिल्ममा कप्तान सुब्बासँगै माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय गरेका छन् । दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । राम्रो ‘वर्ड अफ माउथ’ पाएको फिल्म ‘अञ्जिला’ ले जीवनमा अगाडि बढ्न प्रेरणा दिने निर्माता श्रेष्ठले बताएका छन् ।

उनले फिल्मबाट संकलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर बनाउन प्रयोग हुने बताए । फिल्म निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन् । सुदीप बरालले छायांकन, मिलन श्रेष्ठले सम्पादन गरेको यो फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनिले वितरण गरेको छ ।

कमेन्ट गर्नुहोस्