प्रकाशले अपनाए प्रचारको नयाँ शैली, ‘वसन्त साँझ’ गर्दै

फिल्म । गायक तथा अभिनेता प्रकाश सपूतले फिल्मको ट्रेलरका लागि ‘वसन्त साँझ’ को आयोजना गर्ने भएका छन् । विशेषत भारतमा फिल्मको ट्रेलर वा गीत सार्वजनिक गर्न वृहत इभेन्ट गर्ने प्रचलन छ, नेपालमा यसको सुरुआत प्रकाशले गर्दैछन् । उनले काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा आउँदो शनिवार अर्थात् चैत ९ गते ‘वसन्त साँझ’को आयोजना गर्दै ट्रेलर सार्वजनिक गर्ने छन् ।

उक्त समारोहमा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का, गायिका शान्तिश्री परियार, प्रीति आले तथा देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुती दिनेछन् । दर्शकसँग प्रत्यक्ष जोडिएर फिल्मको ट्रेलर सार्वजनिक गर्दा त्यसको प्रचार बढ्नेमा निर्माण समूह विश्वस्त छ । प्रकाशकै लेखन, निर्देशन तथा अभिनय रहेको फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा देखाईएको छ । मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्म आउँदो चैत २२ मा प्रदर्शन हुँदैछ । बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको फिल्म नेपालसँगै डायस्पोराका दर्शक माँझ प्रतिक्षित छ ।

कमेन्ट गर्नुहोस्