निरोजले यसकारण रोजे डेब्युका लागि ‘फेरी रेशम फिलिली’

फिल्म । कमेडीको फरक स्वाद बोकेर विसं २०७२ सालमा ‘रेशम फिलिली’ प्रदर्शन भयो । ‘जालमा’ गीतको अभूतपूर्व सफलता र उस्तै नविन शैलीको कमेडी ट्रेलरका कारण प्रतिक्षित बनेको ‘रेशम फिलिली’ भूकम्पका कारण राम्रोसँग प्रदर्शन हुन् सकेन । पुनः प्रदर्शनमा पनि दर्शकको उत्साहजनक साथ पाएको फिल्मको सिक्वेलको प्रतीक्षा दर्शकलाई थियो ।

सिक्वेल बन्ने खबरसँगै नयाँ निर्देशक र केही कलाकार परिवर्तन हुने सुनिएपछि दर्शक केही ‘कन्फ्युज’ पनि थिए । तर, ‘फेरी रेशम फिलिली’ निर्देशन गरेका निर्देशक निरोज महर्जन ‘रेशम फिलिली’ निर्माण प्रक्रियामा पनि संलग्न थिए । ‘त्यो टिमको सदस्य नै थिए । कहिले असिस्ट गरिराको हुन्थे । कहिले विनय दाइ (विनय श्रेष्ठ) को डायलग लेखिरा हुन्थे । त्यसमा प्रोडक्सन मेरो मामाले हेरिरहनु भा थ्यो । निर्देशक (प्रणव जोशी)सँग पहिलेदेखि चिनेको तथा काम गरिरहेको थिए नै । म्यूजिक भिडियोहरुमा सँगै काम गरिरहेका थियौं । त्यो सिनेमामा एउटा सानो भूमिका पनि गरेको छु’, निर्देशक महर्जनले भने ।

उनी फिल्मले सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने ठान्छन् । उनलाई यो फिल्मबाट पहिलो निर्देशक भन्दा ‘स्ट्याण्डआउट’ हुनुपर्ने चुनौती छ । यसमा उनी आशावादी सुनिए । ‘त्यही उदेश्यले नै गरेको हो । गीत, टिजर र ट्रेलर आइसकेको छ । यसले त्यो चुनौतीलाई राम्रो प्रतिक्रिया दिइरहेको प्रतिक्रिया पाइरहेको छु । अब स्ट्याण्डआउट कुन रुपमा कसरी हुन्छ फिल्म रिलिजपछि दर्शकहरुले अझ स्पष्टरुपमा भन्नुहुनेछ । तर यो फिल्ममा मलाई भन्न मन लागेको कथा भनेको छु, जुन सिनेमा आएपछि देखिने नै छ’, उनले भने ।

यो फिल्मले दर्शकलाई वाचा गर्ने भनेको हाँसोको भरपुर मनोरञ्जन हो । यसमा दुई मूल पात्र छन्, रेशम र हरिया, जहाँ हरियाले रेशमलाई आफ्नो बचपना हर्कतले हरदम समस्यामा पारिरहन्छ । यही कुराले फिल्मको कथालाई कमेडीको उचाइमा लादैं दर्शकलाई मनोरञ्जनको डोज पस्कन्छ । नव निर्देशक यो मामिलामा कुन रुपमा प्रस्तुत होलान ? उनी माथि यो फिल्मलाई लिएर उठ्ने एउटा अर्को प्रमुख प्रश्न हो ।

उनले भने,‘यो कुरामा म विश्वस्त छु । पहिलेको जस्तै अहिलेकोले पनि दर्शकलाई हँसाउनेछ । त्यसका अलवामा मैले टिजर ट्रेलरमा मैले ‘नट जस्ट अ कमेडी’ भनेर बकाइदा लेखिदिएको छु । यसमा कथा छ जसले सन्देश पनि दिन्छ । कमेडीको साथमा ड्रामा पनि छ। म त यसलाई अझ कमेडी-ड्रामा भन्न रुचाउँछु । निश्चित रुपमा यो पहिलो भन्दा फरक छ ।’

निर्देशक महर्जनले आफ्नो फिल्मले पुरानो नोस्टालजियालाई अनुभूत गराउने बताउँछन् । यसले रेशम र हरियाको मित्रताका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिदैं जसरी अहिलेको नेपाली समाजले विकशित मुलुक जानेलाई रोमान्टिसाइज गर्ने र खाडी मलेसियामा जानेप्रति राख्ने इत्तर दृष्टिकोण राख्छ यही कथा यसले भन्छ। त्यसैले पनि यो फिल्म फर्मूला कम अर्गानिक नै भन्दा बढि न्यायपूर्ण हुने उनको बुझाइ छ । यो बाहेक अन्य विषय पनि फिल्मको सब-प्लटमा मुखरित भएको उनको भनाइ छ ।

फिल्म फागुन १४ गते शिवरात्रीका दिनमा रिलिज हुँदैछ। यसले आफ्नो आकार प्रकार धारण गरिसकेको छ । यो फिल्मलाई लिएर उनी ढुक्क छन्। लेख्दा जुन दुनियाँको कल्पना उनले कल्पना गरेका थिए, त्यो पर्दामा मुखरित भएको उनले पाएका छन् । यसबाट नयाँ निर्देशकका रुपमा चिनिनेमा निरोज ढुक्क देखिए ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेलको सम्पादन गरेका छन् । सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छिन् ।

कमेन्ट गर्नुहोस्