फिल्म । पछिल्लो समय अभिनेता अक्षय खन्ना फिल्म ‘धुरन्धर’ को सफलतापछि चर्चामा छन् । ‘रहमान डकैत’ को भूमिका निर्वाह गरिरहेका अक्षयको ‘हुक स्टेप’ दर्शकहरूमाझ निकै भाइरल भइरहेको छ । तर, उनलाई पछिल्लो समय फिल्म ‘दृश्यम ३’ बाट अचानक हात झिकेको खबरले चर्चामा ल्याएको छ । निर्माता कुमार मंगत पाठक र अक्षयबीच आर्थिक तथा रचनात्मक मतभेदका कारण सहकार्य टुटेको खबर बाहिरिएपछि निर्माता पाठकले वास्तविक कारण सार्वजनिक गरेका हुन् ।
निर्माता पाठकका अनुसार विवाद पारिश्रमिकको विषयमा नभई अक्षयको ‘लुक’ लाई लिएर उत्पन्न भएको हो । सुटिङ सुरु भइसकेको अवस्थामा फिल्म छाडेर हिँडेपछि निर्माण पक्षले अक्षयलाई कानुनी नोटिस पठाउँदै करोडौँ रुपैयाँ क्षतिपूर्तिको माग गरेको छ ।
निर्माता पाठकका अनुसार अक्षयको पारिश्रमिक पहिल्यै तय भइसकेको थियो र कस्ट्युम डिजाइनरले कामसमेत सुरु गरिसकेका थिए । तर, ‘धुरन्धर’ रिलिजपछि उक्त फिल्ममा आफ्नो लुक्सको व्यापक प्रशंसा भएपछि अक्षयले ‘दृश्यम ३’ मा पनि कपाल राख्ने अडान लिएको उनको भनाइ छ । जबकि ‘दृश्यम ३’ को कथा दोस्रो फिल्म सकिएको छ घण्टा पछिको घटनाबाट सुरु हुन्छ, जहाँ अक्षयको पात्र तालु खुइलिएको अवस्थामा देखिनुपर्नेछ ।
निर्देशक अभिषेक पाठकले यसबारे बुझाउन खोज्दा सुरुमा सहमत भएका अक्षयले पछि ‘धुरन्धर’ को सफलताबाट आएको घमण्डका कारण फिल्म नै छाडिदिएको निर्माता पाठकको आरोप छ । अक्षयको यस कदमले प्रोडक्सन हाउसलाई ठूलो आर्थिक घाटा पुगेको छ । डिसेम्बर १६ देखि सुटिङ सुरु भइसकेको र सेटसमेत निर्माण भइसकेको अवस्थामा अक्षयले बिना कुनै ठोस कारण फोन उठाउन छाडेपछि सेट भत्काउनुपरेको पाठकले बताए ।
‘सफलता टाउकोमा चढेपछि उनले धोका दिए, अब म उनीसँग कहिल्यै काम गर्दिनँ’, पाठकले आक्रोश व्यक्त गरे । अहिले अक्षयको स्थानमा अभिनेता जयदीप अहलावत लाई अनुबन्ध गरिएको छ । पाठकले जयदीपलाई अक्षयभन्दा उत्कृष्ट कलाकार भएको दाबी गर्दै कथामा केही परिवर्तन गरेर सुटिङ अघि बढाइने जानकारी दिएका छन् ।











