विद्यार्थी जीवन र नयाँ पुस्ताको कथामा ‘होस्टेल ३’

फिल्म । कलेज लाइफ र होस्टेल, जहाँ अनगिन्ती सपनाहरू बुनिन्छन् । जहाँ मित्रता मजबुत बन्छ, जहाँ पहिलो प्रेमको अनुभव लिइन्छ र जहाँ सङ्घर्षको वास्तविक पाठ पनि सिकिन्छ । नेपाली चलचित्र क्षेत्रमा चर्चित फ्रेन्चाइज होस्टेल शृङ्खलाले यस्तै कथाहरूमा युवा पुस्तालाई प्रतिनिधित्व गर्दै आएको छ । पहिलो ‘होस्टेल’ ले युवाहरूको जीवन, सङ्घर्ष, मित्रता, र प्रेमलाई पर्दामा उतार्‍यो, जसले दर्शकहरूको अपार माया पायो । यसबाट अनमोल केसी, सलोन बस्नेत जस्ता प्रखर कलाकारहरूको जन्म भयो । त्यसपछि आएको ‘होस्टेल रिटर्न्स’ ले पनि कलेज जीवनका कथालाई थप वास्तविकतासँग जोड्दै नयाँ उचाइमा पुर्‍यायो । यसबाट पनि स्वस्तिमा खड्का, नाजिर हुसेन, सुशील श्रेष्ठ जस्ता कलाकारहरूलाई परिचित गरायो ।

अब, सोही शृङ्खलाको तेस्रो अध्याय ‘होस्टेल ३’ यही फागुन २३ गतेदेखि विश्वभर रहेका नेपाली दर्शकमाझ आउँदैछ । ‘होस्टेल ३’ कुनै साधारण चलचित्र होइन, यो आजका युवाहरूको कथा हो, जहाँ उनीहरूको सङ्घर्ष, मस्ती, प्रेम, र जिन्दगीका उतारचढाव समेटिएका छन् । चलचित्रले कलेज जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ । नयाँ पुस्ताका प्रतिभाशाली कलाकारहरू यस चलचित्रमा देखिनेछन्, जसले कलेज जीवनको वास्तविक अनुभवलाई दर्शकहरूसामु प्रस्तुत गर्नेछन् ।

चलचित्रका प्रमुख पात्रहरूमध्ये पारस बम ठकुरी, जसलाई कुलब्वाईको नामले लाखौँले चिन्छन् । रिहान गिरी, जो आफैँमा गायक हुन् । उनी भुटानका नेपाली हुन् । उनले ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणमा उत्कृष्ट १० स्थानसम्म पुग्न सफल थिए । आशिष घिमिरे, जसलाई हामीले चर्चित टेलिश्रृङ्खला ‘मेरी बास्सै’मा देखेका थियौँ । उनी ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । आशिषले आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । पदम तामाङ, जो भारतको सिक्किमका स्थायी बासिन्दा हुन् । उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन् । सोसल मिडियामा चर्चित रहेका उनका लाखौँ ‘फ्यान’ रहेका छन् ।

अर्कोतर्फ, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुली कलेज जीवनका ती पात्र हुन्, जसले प्रेम, प्रतिस्पर्धा र आत्मनिर्भरतालाई प्रस्तुत गर्छन् । यी पात्रहरूको जीवन यात्राले दर्शकहरूलाई हँसाउने मात्र होइन, भावुक पनि बनाउनेछ । उनीहरूको मित्रता, ठट्टा-मजाक र सङ्घर्षले चलचित्रलाई थप जीवन्त बनाएको निर्देशक शसान कँडेल बताउँछन् । निर्देशक कँडेल र माथि उल्लेखित सबै कलाकारले यही चलचित्रबाट रजतपटमा डेब्यु गरेका हुन् । यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

यसको ‘स्क्रिप्ट माधव शर्माले लेखेका छन्, जसले कलेज जीवनका वास्तविक पक्षहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । शर्माले यसअघि ‘ए मेरो हजुर ४’ र ‘उपहार’ जस्ता चलचित्रमा लेखन टिममा रहेर काम गरिसकेका छन् । यसको निर्माण सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म्सको सहकार्यमा गरिएको छ, जसमा निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता, गणेश मगर र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् । फिल्म फागुन २३ गते नेपालसहित विभिन्न देशहरूमा एकैसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्