‘अच्छा लेकिन’ नयाँ भर्सनमा

फिल्म । फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैतको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीतलाई समावेश गरिएको छ । पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देविका बन्दनाको स्वर थियो । नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले स्वर भरेका छन् ।

यो गीतको भिडियोलाई ४ दिन लगाएर खिचिएको छ । जरसिंह पौवामा सेट नै लगाएर हिमाललाई काखमा राख्दै यो गीतको भिडियो खिचिएको हो । यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मका निर्देशक दिवाकर भट्टराइले १५ लाख रुपैयाँ खर्च गरेर गीतको भिडियो तयार पारिएको बताए ।

यो गीतमा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराइले नृत्य गरेका छन् । चिसो हावामा र धुलो उडेका कारण पनि छायांकनमा केही कठिनाई भएको कलाकारहरुले बताए । तर, दर्शकले यो गीतको भिडियोलाई रुचाउनेमा उनीहरु विश्वस्त देखिए । नायक राजेश हमालले यो गीतले आफूलाई फेरि विगतमा फर्काएको भन्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीतको भिडियोमा नायक हमाल र अर्का नायक कटुवाललाई कर्नेलको अवतारमा देख्न पाइनेछ ।

यो फिल्ममा नायक हमाल र खनालले ३२ बर्षपछि सहकार्य गर्दैछन् । यसैले, दुवैजना गीत छायांकनका क्रममा मिडियासँग उत्साहित देखिए । गीतको भिडियो सय कोरस र त्यती नै संख्यामा दर्शक राखिएको छ । एक्सन र लभ स्टोरी कथामा निर्माण भएको यो फिल्ममा दर्शकले विविधता देख्न पाउने विश्वास निर्माणपक्षको छ । नायक कटुवालले सुरु सुरुमा नायक हमालसँग नाँच्दा केही डर लागेपनि पछि सहज भएको बताए । यो पूर्व मिस नेपाल उषा खड्गीको डेब्यू फिल्म हो । यसैले, डेब्यू फिल्मलाई लिएर उनको छुट्टै प्रकारको उमंग देखिएको छ ।

कमेन्ट गर्नुहोस्