फिल्म । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमालपछि फिल्ममा कलाकार उत्तम प्रधानको प्रवेश भएको छ ।
उत्तम लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न लागेका हुन् । केही समयअघि मात्र उनले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । तुलसी घिमिरे निर्देशकीय फिल्म ‘दर्पणछाँया’बाट नेपाली फिल्ममा उदाएका उत्तमले पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा निर्वाह गरेका थिए ।
फिल्मका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई फिल्ममा अनुबन्धित गरेका हुन् । प्रधानले लामो समयपछि नेपाली फिल्ममा कमव्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । फिल्ममा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । यो फिल्म नयाँ वर्षको अवसर पारेर यसैवर्ष चैत २९ गतेबाट रिलिज गर्ने निर्माण पक्षको तयारी छ ।











