फिल्म । गत साता सार्वजनिक गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर दर्शकले रुचाएका छन् । असोज १७ गते दसैँको घटस्थापनाको अवसरमा रिलिज हुने फिल्मलाई दर्शकले प्रतीक्षा भन्दै प्रतिक्रिया दिएका छन् । ट्रेलर युट्युबमा सार्वजनिक भएकोपछि पाएको प्रतिक्रिया र युट्युबमा प्राप्त कमेन्टले कथावस्तु र कलाकारको अभिनयले दर्शक आकर्षित भएको सङ्केत गरेको छ ।
भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि एक परिवारले छोरीका लागि योग्य वर पाउन कस्तो संघर्ष गर्नुपर्छ भन्ने कथालाई रमाइलो ढंगले प्रस्तुत गरेको छ । केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई सिनेमाले व्यंग्य गरेको छ ।
फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । यसका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ ।












