‘छोरीको सक्षमतामा सन्देह छैन’ : निर्देशक सुवेदी

फिल्म । निर्देशक लक्ष्मण सुवेदीले जन्मकै कारणले सन्तानमा समान व्यवहार नहुनु दु:खद रहेको बताएका छन् । आउँदो भदौ ७ मा प्रदर्शन हुने फिल्म ‘सतीदेवी’ को प्रचारप्रसारका क्रममा निर्देशक सुवेदीले तेस्रो निर्देशकीय फिल्ममा छोरीको विषयलाई उठान गरेको जानकारी दिए ।

‘मैले यही काठमाडौँ सहरमै देखेको एउटा घटना हो । त्यसलाई मैले फिल्ममा रुपान्तरण गरेको हुँ । छोरीका विषय भएकाले म आफैँ पनि धेरै कनेक्ट भएँ’, उनले भने ।

मलिका महतको शीर्ष भूमिका रहेको फिल्मको ट्रेलरमा बोलिएको संवादले चर्चा पाएपछि निर्देशक सुवेदी थप उत्साहित छन् । संवादले पात्रहरूको भावना, विचार, र कथा स्पष्ट रुपमा दर्शकमाझ पुर्‍याउँने मात्र नभइ फिल्मको कथा प्रवाह गर्न, चरित्रहरूको विकास गर्न, र दृश्यहरूको भावनात्मक प्रभाव बढाउने काम गर्छ । यसका साथै फिल्मले केही महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेको छ ।

‘मनबाट लेखिएको भावना हो, संवाद । यसमा गाउँले बोलीचालीदेखि सहरको शैलीसम्म संवादमा टिप्ने प्रयास गरेको छु । टिजर र ट्रेलर आएपछि दर्शकहरुले संवादहरु नोट गर्नुभएको छ’, उनले भने।

दमदार संवादको प्रयोगले फिल्मको कथा भन्दा पनि गहिरो सन्देश दिन सक्छ, सिनेम्याटिक प्रभावलाई अझ गहिरो र अर्थपूर्ण बनाउने निर्देशक सुवेदीकको बुझाई छ । उनको बुझाइमा फरक लिङ्गमा जन्मकै कारणले एउटा उचो अनि अर्को निचो हुनु भन्ने सामाजिक भाष्य नै गलत छ। आफ्ना संवादमा महिला, किशोरीले भिडियो बनाउनु पछाडिको मनोविज्ञान नै यही भाष्य हो जुन सर्वथा गलत छ ।

छोरीको सङ्घर्ष र महत्त्वलाई समेटेर ‘सतीदेवी’ निर्माण गरिएको अभिनेत्री मलिका महतले बताएकी छिन् । अभिनेत्री महतले महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई प्रस्तुत गरिए पनि यो पूर्ण मनोरञ्जक रहेको बताइन् ।

‘फिल्ममा सतीदेवी पात्रमार्फत छोरीको भोगाइ र परिवारसँगको अपेक्षा देखाइएको छ । म सहरिया परिवेशमा हुर्किए पनि उक्त पात्र र जीवनलाई सहजै महसुश गरेँ । कथा पढ्दा नै म पात्रसँग जोडिएकी थिएँ’, अभिनेत्री महतले भनिन् ।

यसमा अभिनेत्री महतसँगै सृजना अधिकारी, सुजिता शिवाकोटी, हर्षिका वली, मञ्जिला बानियाँ, समृद्धि सेन्चुरी, कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, मनिषा सापकोटालगायतले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्