फिल्म । कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन् । फिल्म ‘कोहिनूर’मा सानो भूमिकामा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा पाइला चालेका नारायण यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’बाट निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । यो फिल्ममा उनले नायक गौरव पहाडीको बुवाको भूमिकामा अभिनय गरेका छन् । उनी आफ्नो नै सुन व्यवसाय रहेकाले त्यही पेशालाई प्रेरणा दिन र इतिहासलाई चिनाउन ‘नम्बरी सुन’ निर्माण गरेको बताउँछन् ।
‘फिल्मको कन्सेप्ट मेरै हो । यो वास्तविक कथा हो । यसमा सुनको इतिहास छ । परापूर्व कालमा सुनको काम कसरी अगाडि बढ्यो, कालीगढी काम कसरी बढ्यो भन्ने कुरालाई फिल्ममा देखाएका छौं’, उनी भन्छन्, ‘सुन जन्मदेखि अन्त्यसम्ममा लगाउनुपर्छ । त्यसको आफ्नै इतिहास छ । त्यो इतिहास दर्शकले यो फिल्ममा हेर्न पाउनुहुन्छ ।’
निर्माता खातीले फिल्ममा काजीकी छोरी र कालीगढको छोराको प्रेमलाई पनि हेर्न पाउने खुलाए । सानैदेखि कलाकारितामा रुची राख्ने नारायणको आफ्नै युट्युब च्यानल छ । त्यही च्यानलमा उनले निर्माण गरेका सिरिज छन् । निर्देशक राजु गिरीसँग सिरिजकै काम गरिरहँदा नारायणको भेट भएको रहेछ । ‘मेरो सिरिजमा उहाँले निर्देशन गर्नुहुन्थ्यो । उहाँलाई फिल्म बनाउने चासो देखाएपछि ‘म गरिदिन्छु’ भन्नुभयो । सँगै काम गरिरहेको मान्छेसँग काम गर्न सजिलो हुन्छ भनेर राजुजीसँग सहकार्य गरें’, नारायणले भने ।
एउटै फिल्ममा आफैं निर्माता र कलाकार रहँदा निकै चुनौती अनुभव भएको नारायणले सुनाए । ‘निर्माताका रुपमा मेरो पहिलो फिल्म हो । निर्माता र कलाकार दुवै अनुभव बटुलें । तनाव धेरै हुँदो रहेछ । फिल्ममा ठूलै पैसा लगानी भएको छ’, नारायण भन्छन्, ‘काममा कोही पनि कलाकारले कम्प्रोमाइज गर्नुभएन ।’ नारायण अझैं फिल्म बनाउन चाहन्छन् । त्यो चाहना भने ‘नम्बरी सुन’ले पुरा गर्नुपर्ने उनको बुझाई छ । ‘नम्बरी सुनले लगानी उठाउनेमा आशावादी छु । यो फिल्म रिलिजपछि लगानी रिटर्न गर्छ भन्नेमा ढुक्क छु । लगानी रिटर्न गरेपछि मात्र अरु फिल्म बनाउने योजना छ’, नारायण भन्छन् ।
नारायणका अनुसार दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठका दाजु मीनकृष्ण श्रेष्ठ उनका साथी हुन् । ‘मीनकृष्णको टिमले कोहिनूर बनाएपछि त्यो फिल्ममा सानो भूमिकामा अभिनय गरें । श्रीकृष्णको निधन नभएको भए त्यो टिमसँग मिलेर अहिलेसम्म मैले झण्डै चारवटा जति फिल्म निर्माण गरिसक्थें’, उनी भन्छन् ।
फिल्म ‘कोहिनूर’ सुटिङका समयमा श्रीकृष्णका दाजु मीनकृष्णसँग नारायणको फिल्म बनाउने सल्लाह पनि भएको रहेछ । ‘मीनजीले ‘नारायणजी हामी मिलेर एउटा फिल्म बनाउनुपर्छ’ भन्नुभएको थियो । मैले ‘हुन्छ । म २५ देखि ३० प्रतिशत लगानी गर्छु’ भनेर वचन पनि दिएको थिएँ । तर श्रीकृष्णको निधनपछि सबै कुरो तितरवितर भयो’, नारायण सम्झन्छन् ।
राजु गिरी निर्देशित फिल्मको प्रस्तुतकर्ता नारायण खाती हुन् । । फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।
सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, गौतमराज खड्काको सम्पादन छ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ । निर्माण पक्षले खल्ती एपबाट फिल्मको टिकट काट्ने ५ जना र त्यसभन्दा बाहिरका ७ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरिसकेको छ ।













