‘रङ्गेलीको कथा काल्पनिक भएपनि पात्रहरू समाजकै हुन्’ : निर्देशक सुवेदी

फिल्म । आजदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रङ्गेली’ मार्फत निर्देशनमा अर्जुन सुवेदीले डेब्यु गरेका छन् । निर्देशक सुवेदीका अनुसार ‘रङ्गेली’ रहस्यमयी नाम हो । उनी कसैले यसलाई रङ्ग, कसैले चराको नाम र फूलको नामसँग तुलना गर्छन् । पूर्वी नेपालमा जन्मिएका उनले आफ्नै भेगको कथालाई यसमा समेटेको बताए ।

‘मैले जुन कथा रोजेँ, त्यो कथा त्यही क्षेत्रतिर भन्दा अलिकति राम्रो देखिएला जस्तो लागेर ‘रङ्गेली’ रोजेको हुँ । फिल्मको कथा पुरै काल्पनिक छ, तर जोडिएका केही चरित्रहरू भने ‘रियालिस्टिक क्यारेक्टर’ हुन् । ती चरित्र रङ्गेलीका भने होइनन् । कुनै चरित्र पथरी त कुनै चरित्र विराटनगर र विराटनगर पारिका छन्’, उनले भने ।

उनले ‘रङ्गेली’लाई ग्याङस्टर मात्र नभई एउटा पात्रको ‘इमोसनल जर्नी’ मान्छन् । उनले भने, ‘त्यो पात्र दयाहाङ राईले निर्वाह गर्नुभएको छ । उहाँको इमोसन प्रस्ट देखाइएको छ । त्यो बिचमा उहाँले भोग्ने र बाँच्ने आधार बनाउन तथा एउटा ठाउँमा आफ्नो छाप छोड्नका लागि गर्ने गतिविधिहरू देखाइएको छ । त्यो बाटो अर्थात् ग्याङस्टरको बाटोले उहाँको जीवनमा आइपर्ने उतारचढाव यसमा छ ।’

त्यसो त निर्देशक सुवेदीलाई फिल्म लेखिरहँदा उनलाई प्रेमकथा दिमागमा नआएको होइन । पछिल्ला वर्षमा प्रेमकथाका फिल्म कमै आइरहँदा उनले प्रेमकथालाई अगाडि बढाउने विचार गरेका थिए । तर उनले प्रेमकथालाई छोडेर कमेडी कथा लेखे । त्यो स्क्रिप्ट केही कलाकारले पनि पढे । ‘तर कमेडीकै लहर आइरहेको बेलामा मैले पनि त्यही ल्याएँ भने म पनि त्यही रुमल्लिन्छु वा तुरुन्तै हराउँछु कि जस्तो लागेर ग्याङस्टरको कथा रोजेँ । किनकि मलाई आफ्नो छाप पनि छोड्नु थियो’, उनले भने ।

उनलाई ‘रङ्गेली’को कथा लेखिरहँदा उनको दिमाग कोही पनि कलाकार आएका थिएनन् । अर्थात् उनी ‘ब्ल्याङ्क’ थिए । कथा लेखिसकेपछि मात्र उनले कलाकार को हुन सक्छन् भनेर सोच्न थाले । ‘मैले वीर विक्रम, लप्पन छप्पन र प्रसाद २ हेरेपछि अर्पण थापालाई लिने निर्णय गरेँ । उहाँ शान्त किसिमको हुनुहुन्छ । त्यसपछि मिरुनासँग कुरा भयो । उहाँकै अनुरोधमा स्क्रिप्टमा केही ‘रिराइट’ भयो । हामीले दयाहाङ दाइले अर्कै क्यारेक्टरको अफर गरेका थियौँ । तर अहिले निभाएको क्यारेक्टर चुनौतीपूर्ण लागेपछि उहाँकै इच्छा अनुसार अहिलेको क्यारेक्टर दियौँ । दयाहाङ जस्तो मान्छेले अहिले निभाइरहेको क्यारेक्टर गर्छु भनेपछि नाइँ भन्ने कुरा नै आएन । त्यसपछि प्रवीणजी पनि जोडिनुभयो । यीबाहेक अन्य प्रमुख क्यारेक्टरमा डेब्यू कलाकार नै हुनुहुन्छ’, उनले भने ।

‘रङ्गेली’ पाँच सेड्युलमा पुरा भएको थियो । खास गरी यसका प्रमुख कलाकार दयाहाङ राईको व्यस्तताले पनि सुटिङको समयावधि लम्बिएको थियो । ‘व्यस्त कलाकार लिएपछि उहाँको व्यस्ततालाई हामीले बुझेका थियौँ । हामीले गर्मीदेखि जाडोसम्म काम गर्‍यौ । हामीलाई रिलिज डेट नजिकिँदै छ, चाँडो सक्न पाए हुन्थ्यो भन्ने थियो । तर हामीले सक्यौँ । पाँच सेड्युलमा काम गर्दा सिक्वेन्स बिग्रिएन’, निर्देशक सुवेदीले भने ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यसका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

यसका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति हुन् ।

कमेन्ट गर्नुहोस्