फिल्म । गत शुक्रबार अर्थात् फागुन १८ गतेदेखि प्रदर्शनरत फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई दर्शकको साथ प्राप्त भएको छ । फिल्मको मंगलवार चाबहिलस्थित एफक्युबका सम्पूर्ण शोमा दर्शक भरिभराउ थिए । फिल्मको वर्ड अफ माउथ बलियो भएकै कारण दर्शकको साथ फिल्मलाई बढिरहेको निर्माण पक्षको दावी छ ।
निर्माण पक्षको दावी अनुसार यो फिल्मले शुक्रबार, शनिबार र आइतबार डेढ करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । फिल्मको निर्माण शैली, सस्पेन्स र थ्रिलरलाई दर्शकले मन पराएको प्रतिक्रिया दिएका छन् । फिल्म रिलिज भएपछि दर्शक प्रतिक्रिया लिन हलसम्म पुगेका निर्देशक तथा कलाकारसहितको टिमलाई दर्शकले प्रतिक्रिया दिईरहेका छन् ।
दुई घन्टा ५० मिनेट लम्बाई रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्म हेरेपछि अधिकांशले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको तारिफ गरे । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई देशभरका हलले सुखद शो उपलब्ध गराएका छन् ।
फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ ।












