प्रिमियरमा रुचाईयो ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’

फिल्म । आजदेखि नेपाली फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ प्रदर्शन गरिएको छ । देशभरका १ सय ११ हलबाट सार्वजनिक प्रदर्शन गरिएको फिल्मलाई पूर्व सन्ध्यामा फिल्मकर्मीले हेरेका थिए । आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मीले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किदै गर्दा निर्देशक प्रदीप भट्टराईले आफूले यस किसिमको मेकिङ कल्पना गर्न नसक्ने बताए ।

‘यो फिल्म बनाउन निकै मेहनत गरिएको छ । हामी फिल्मकर्मीले दृश्य निर्माण गरिएको मेहनतल़िया महसुश पनि गर्न सक्छौँ । फिल्म ट्रेलर झैँ द्वन्द्वप्रधान छ’, निर्देशक भट्टराईले भने । अभिनेत्री उपासनासिंह ठकुरीले फिल्म मन परेको बताइन । उनले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्,‘अभिनेताहरूले निकै मेहनत गरेर चरित्र निर्माण गर्नुभएको छ । सम्रगमा टिमको मेहनतले राम्रो फिल्म बनेको छ । यसले दर्शकलाई भरपुर मनोरन्जन दिन्छ ।’

अभिनेता सुशील श्रेष्ठले फिल्म हेरेपछि अर्का अभिनेता नाजिर हुसेनको प्रसंशा गरे । डेब्यु फिल्म ‘होस्टेल रिटन्स’ मा सँगै काम गरेका सुशीलले नाजिरलाई यसकिसिमको भूमिकामा अहिलेसम्म नसोचेको बताए ।

‘लगभग पाँच वर्षपछि भेट भएको छ । नाजिरले मसँगै प्रिमियर हेर्ने धेरै फिल्मकर्मीलाई सरप्राइज दिएको छ । किनकि फिल्ममा उनले निर्वाह गरेको भूमिका बेजोड छ । यसको विषयवस्तु राम्रो हुनुका साथै बनिरहेको शैली भन्दा फरक प्रस्तुतीकरण छ’, सुशीलले भने ।

अभिनेता तथा निर्देशक दिनेश डिसीले उठान गर्नुपर्ने विषयलाई फिल्ममा पाएको बताए । उनले भने,‘सौगातले अघिल्ला फिल्म झैँ अभिनयमा प्राण भरेका छन् । धेरै पटकथाहरू छन् । कलाकार सबैले आफ्नो पात्रलाई न्याय गरेका छन् ।’

दुई घन्टा ५० मिनेट लामो यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ । यो फिल्म हेरेपछि अधिकांशले यसको मेकिङ, एक्सन, कथावस्तु भन्ने शैली र कलाकारको अभिनयको खुलेरै तारिफ गरे ।

सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई देशभरका हलले सुखद शो उपलब्ध गराएका छन् । सार्वजनिक प्रचार सामग्रीका कारण चर्चामा रहेको फिल्मलाई देशभरका १ सय ११ फिल्म हलले २ सय ५९ शोहरु उपल्बध गराएका छन् ।

फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ ।

कमेन्ट गर्नुहोस्