फिल्म । पोस्टर सार्वजनिक गरेर छायांकन प्रारम्भ गरेको फिल्म ‘पूजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएम इन्टरटेन्मेन्टले खरिद गरेको छ । अर्थात् नेपाल बाहेकको थियट्रिकल रिलिजको सम्पूर्ण जिम्मा उक्त कम्पनिका लागि छत्र थापाले पाएका छन् । निर्देशक दिनेश राउतले नेपाल बाहेक फिल्म प्रदर्शन गर्न इच्छुकले एमएसएमसँग सम्पर्क गर्नुपर्ने बताए ।
सोही कारण निर्माण कम्पनिले फस्टलुक समेटिएको पोस्टर सार्वजनिक गर्दा नै वितरण कम्पनिलाई समेटेको थियो । निर्देशक राउतले कति रकममा बिक्री भएको भन्ने विषयमा नखुलाई राम्रो मुल्य पाएको जानकारी दिए । ‘नेपाली चलचित्रको बजारलाई बिस्तार गर्ने उद्देश्यका साथ प्रवासमा बस्दै आउनु भएको नेपालीहरूको समूहले स्थापना गर्नु भएको कम्पनी एमएसएम इन्टरटेन्मेन्टसँग सहकार्यको सुरुआत भएको छ, उहाँहरू र हाम्रो उदेश्य नेपाली फिल्मको डायस्पोरामा प्रव्रद्धन हो । सोही उदेश्यमा हामीले व्यावसायिक सम्झौता गरेका छौँ ।’
यसमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ । जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएइएको फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।
‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । उनले यस फिल्मलाई विषयगत र व्यापारिक दुवै दृष्टिकोणबाट ब्लकबस्टर बनाउन घनिभूत लागेका छन् ।
यसलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’, ‘सेल्फी किङ्ग’मा समावेश थियो ।
राजेश श्रेष्ठको डिओपी रहने ‘पूजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।
हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने फिल्मका मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेशराज गिरी, तर्कराज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डे र प्रिया रोक्काको मेकअप रहनेछ । यो फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।












