नयाँ संस्करणमा ‘कालो चस्मा लाउ है मैया’

फिल्म । चर्चित गीत ‘कालो चस्मा लाउ है मैया’ को नयाँ संस्करण (भर्सन) सार्वजनिक गरिएको छ । नेपाली फिल्म ‘बादलपारी’ मा समावेश उक्त गीतलाई नयाँ संस्करमा निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित फिल्म ‘पर्खी बसें तिमीलाई’ मा समावेश गरिएको हो ।

सुरेन्द्र राणाद्वारा लिखित गीतको शब्दमा परिवर्तन गरिएको छैन भने सङ्गीतकार शम्भुजित बाँस्कोटाले नै पुनः सङ्गीत सिर्जना गरेका छन् । गीतको नयाँ संस्करणमा गायक प्रमोद खरेल र गायिका मिलन नेवारले स्वर दिएका छन् । निर्देशक श्रेष्ठले पुराना लोकप्रिय गीतलाई नयाँ पुस्तासम्म ल्याउन रीमेक गरिएको बताए । यसै फिल्ममार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले अभिनय यात्रा सुरु गरेकी छिन् ।

‘बाल्यकालमा उक्त गीतमा धेरै पटक नृत्य गरें । अहिले अभिनय यात्राको सुरुआतमा पनि यही गीतमा प्रस्तुत हुने मौका पाएँ, निकै खुसी छु’, अभिनेत्री बुढाथोकीले भनिन् । पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायांकन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरंजन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्