फिल्म । नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, मेकिङ लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लूट’ मार्फत निर्देशनमा उदाए निश्चल बस्नेत । निर्देशकसँगै अभिनेता, गायक लगायतका विविध विधामा आफ्नो कौशलता देखाएका बस्नेतले नयाँ चलचित्र ‘दिमाग खराब’ तयार गरेका छन् । कुनै समय पर्दा पछाडि रहेर काम गर्ने निर्देशक भएता पनि पर्दा अगाडिका अभिनेता भन्दा बढी लोकप्रियता हासिल गरेका निर्देशक बस्नेतले कम चलचित्र निर्देशन गरेका छन् ।
आफूमा दर्शकले गर्ने विश्वासले पनि विषयवस्तु चयनमा समय लाग्ने गरेको उनले बताउने गरेका छन् । ‘म आम मानिसकै कथा भन्न रुचाउछु । त्यसैले गर्दा केही ढिलाई भयो होला, तर त्यो तयारीको समय थियो’, निर्देशक बस्नेतले भने,‘मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ । यसपटक पनि त्यहिँ प्रयास छ ।’
उनले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाईएको बताए । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक बस्नेतको श्रीमतीसमेत रहेकी अभिनेत्री खड्काले चलचित्रमा काम गरेसँगै एउटा प्रश्नको अन्त्य भएको बताउनुभयोबताईन् ।
उनले भन्नुभयो,‘मलाई जहिले निर्देशक बस्नेत (श्रीमान) को चलचित्रमा कहिले काम गर्ने ? उहाँले लिनु हुदैन ? भनेर सोधिने प्रश्नको अन्त्य भएको छ । यसपटक आफ्नै श्रीमान निर्देशक हुँदा केही भिन्न महसुश गरेता पनि म निर्देशकले भने अनुरुप नै काम गरेकी छु, यो एउटा कलाकारको दायित्व पनि हो ।’
कात्तिक २४ मा प्रदर्शन तय गरिएको चलचित्रमा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के बाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् ।













