‘परालको आगो’ मा सौगात अनुबन्ध

फिल्म । कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका सौगातले फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’को भूमिका निर्वाह गर्नेछन् । सौगातको अनुबन्धसँगै फिल्म ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको निर्माण टिमले जनाएको छ ।

सुशील पोखरेलको लगानीमा बन्ने यो फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन् । फिल्मको गीत–संगीत पक्षमा सशक्त टोली रहने भएको छ । गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत छन् भने संगीतमा वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले योगदान दिनेछन् ।

मैनाली कथा पुरस्कार ट्रस्टको अनुमतिमा निर्माण हुने यो फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् । छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु हुनेछ।निर्माता सुशील पोखरेलले फिल्म सामाजिक सन्देश दिने उद्देश्यले निर्माण भइरहेको र टिम पूर्ण उत्साहका साथ जुटेको बताए ।

छायांकन संकल्प भुजेलले गर्नेछन् भने रामजी लामिछाने नृत्य निर्देशक, सुशील देवकोटाको लेखन, सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिंग र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजरको रूपमा छन् । मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित फिल्म यसअघि ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि निर्माण गरेका थिए ।

कमेन्ट गर्नुहोस्