फिल्म । सानो टिम र सानो बजेटमा निर्माण भएको फिल्म हो,‘पशुपति प्रसाद’ । यद्यपि फिल्मको विषय दर्शकलाई मन पर्यो । प्राविधिक रुपमा फिल्म जति कम्जोर देखिएपनि विषयवस्तु र कलाकारको अभिनय सशक्त थियो । फलत: फिल्म धेरै दर्शकको प्रिय बन्यो । यसको सिक्वेललाई दर्शकले पर्खिएको लामो समय भयो । सात वर्ष पश्चात निर्माता तथा लेखक खगेन्द्र लामिछानेले यसको निरन्तरता भन्दै ‘पशपति प्रसाद २ : भष्मे डन’ ल्याउदैछन् ।
पहिलो भागमै कथाको अन्त्य भएकाले सिक्वेल बन्छ कि बन्दैन ? भन्ने जिज्ञासा धेरैलाई थियो । ‘हामीले के विषयमा फिल्म बनाउने भनेर धेरै सल्लाह गरेका थियौँ । दर्शकको प्रिय फिल्मलाई व्यापारकै लागि हामी दर्शक माँझ ल्याउन तयार थिएनौं’, लेखक लामिछानेले भने,‘कथामा सहमत भएपछि जहाँ फिल्म सकिएको थियो, त्यहिँबाट नयाँ कथा सुरु गरेका छौं । यसमा भष्मेको विगत र वर्तमानलाई देखाएका छौं ।’
उनी यसलाई एउटा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ पनि भन्न तयार छैनन् । किनकि यसमा सबैको कथा छ । हनुमान छन्, दुर्गा माता थपिएकी छिन् । अन्य पात्रहरु छन् । तर, पशुपति प्रसाद छन् कि छैनन् ? यो जिज्ञासा मेटाउन हल नै पुग्नु पर्ने निर्देशक दीपेन्द्र कुमार खनाल बताउछन् । ‘हामीले विशेषत भष्मेको कथा भनेका छौं । पशुपति प्रसादको प्रभाव त फिल्ममा छ । किनकि उसकै क्षेत्रमा अन्य पात्रको दिनचर्या देखाएका छौं । तर, पशुपति प्रसाद बारे जान्न हल नै पुग्नु पर्छ’, निर्देशक खनालले भने ।
उनी भष्मे डनको पात्रमा आएको परिवर्तन र उसको जीवनीसँग दर्शक सहजै जोडिनेमा विश्वत छन् । स्वयम् भष्मे डन अर्थात विपिन कार्की उत्तिकै आशावादी छन् । यसपटक फिल्म आफ्नो काधमा रहेको महसुश गरेका विपिनले पात्रलाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।
‘पुरानै कुराहरू थियो । त्यसलाई समयको परिवर्तनसँगै देखाईएको छ । वितेको सात वर्षमा भष्मे परिपक्क भएको छ । उसको उतौलोपनासँगै जिम्मेवारीलाई पनि देखाईएको छ’, विपिनले भने । त्यसो त भष्मे डन मात्र नभई लेखक लामिछाने अन्य पात्रको विषयमा समेत छुटै कथा भन्न चाहन्छन । उनी ‘युनिभर्स’ नै बनाउने सोचमा समेत छन् । त्यसका लागि दर्शकको चाहना मुख्य कारक बन्ने छ ।
फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बनियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापार गर्ने संभावना छ । फिल्म कत्तिक ४ गते फूलपातीबाट प्रदर्शन हुँदैछ ।











