‘परदेशी–२’ले पायो प्रदर्शन अनुमति

फिल्म । असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केद्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो । सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन ।

सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि खुलेर प्रशंसा गर्नुका साथै मौलिक कथामा चलचित्र बनेको भन्दै आफूहरुले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए । ‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’, निर्माता वंशलले भने,‘मौलिक कथामा मन छुने चलचित्र बनेको रहेछ । चलचित्र हेरेर मज्जा आयो । यस्तो चलचित्रहरु चल्छ भनेर शुभकामना दिनुभयो ।’

चलचित्रको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । चलचित्रका निर्देशक नारायण रायमाझी, कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । गायनमा स्थापित प्रकाशको यो डेब्यु चलचित्र हो । विभिन्न हिसावले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रुपमा हेरिएको छ ।

कमेन्ट गर्नुहोस्