फिल्म । नेपाली फिल्म इतिहासमै पहिलोपटक हलिउड प्रिमियर हुने भएको छ । गोर्खालीको वीरताको गाथा समेटिएको ‘गोर्खा वारियर’ को प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता तथा निर्देशक मिलन चाम्सले आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा प्रिमियर तय भएको जानकारी दिए ।
उनले फिल्मकर्मी नहुँदै देखेको सपनालाई मुर्तरूप दिन लागेको बताए । ‘म फिल्मकर्मी नबन्दै त्यहाँ डुलेको समयमा एक फोटोग्राफर भेटेको थिए । प्रिमियरमा फोटो खिच्नकै लागि उनी आफ्नो स्थान सुरक्षित गर्न त्यहाँ एक दिन अगाडी नै थिए । त्यहिँ समयमा मैले नेपाली फिल्मको प्रिमियर गर्छु र नेपाली कलाकारलाई रेड कार्पेटमा हिडाउछु भन्ने प्रण गरेको थिए’, निर्देशक चाम्सले भने ।
उनले सपना पुरा हुन् बीस वर्षको समय लागेको बताए । ‘गोर्खालीको कथालाई पर्दासम्म ल्याएको यात्रा सहज छैन । गोर्खालीले लडेको लडाई जस्तै म पनि संघर्ष गरिरहेको छु’, निर्देशक चाम्सले भन्नुभयो । ‘हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा छौँ । यो नेपाली चलचित्रकै लागि गौरवको विषय हो किनकि त्यो चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र प्रिमियर हुन्छन्’, निर्देशक चाम्सले भने ।
प्रिमियरमार्फत नेपाली फिल्मको चर्चाले अन्य नेपाली फिल्मलाई पनि फाइदा पुग्ने उनको विश्वास छ । ‘अब हामीले मेरो वा तेरोभन्दा पनि हाम्रो भनेर अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र अन्तर्राष्ट्रियबजारमा हामीले सफलता पाउनेछौँ’, उनले भने । लगत्तै हङकङ र सिङ्गापुरमा समेत प्रिमियर गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिए । युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । आयोजित पत्रकार सम्मेलनमा १६ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेञ्जिङ शेर्पालाई सम्मान समेत गरियो ।












