फिल्म । विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यबस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति वरिष्ठ कलाकार रामचन्द्र अधिकारी बन्नुभएको छ । उहाँले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको ४६ हजार छ सय रुपैयाँ पौष १३ गते बुधबार बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गर्नुभयो । सो कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, संचारकर्मी तथा निर्देशक दिनेश डिसी, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिती थियो ।
विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नुभएका चलचित्रकर्मीहरुलाई बोर्डले विभिन्न किसिमका सुविधाहरु प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याईएको थियो । यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १ सय २ जना चलचित्रकर्मी मध्ये ९८ जनाको बीमा गरिएको थियो । बीमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भईसकेको छ भने परिचयपत्र प्राप्त गर्नुभएका कलाकार हरि प्रसाद रिमाल, लेखक/निर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम सुरु हुन अगावै निधन भईसकेको थियो ।
चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार रुपैयाँ र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजार रुपैयाँ गरी जम्मा एक लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ । राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गर्नुभयो । बीमा गरेको ६-७ महिनामा बल्ल एकजनाले दाबी गर्नुभएको बताउँदै भण्डारीले थोरै नै रकम भएपनि दाबी पेश गरेपछि २४ घण्टाभित्र बोर्डमा उक्त रकम उपलब्ध गराउने बताउनुभयो । बीमा रकम प्राप्त गर्दै कलाकार अधिकारीले बोर्डलाई धन्यवाद व्यक्त गर्नुभयो । ‘चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रुपमा मैले हेरेको छु । यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकुन्’, अधिकारीले भन्नुभयो, ‘हाम्रो दुख बुझ्ने कलाकार नै अध्यक्षको रुपमा आउनुभएको छ । हामीलाई अझै धेरै भरोषा पलाएको छ ।’










