फिल्म । नेपालमा थोरै साउथ इन्डियन फिल्महरु आउने समयमा आएको ‘बाहुबली’ ले दर्शकलाई हलसम्म तान्यो । फिल्म वितरण गर्ने कम्पनि मात्र नभई प्रदर्शन गर्ने हल संचालकले पनि राम्रो अर्थ आर्जन गरे । एकसातापछि बलिउडको ठुलो फिल्म ‘बजरंगी भाइजान’ आउँदा पनि बाहुबलीलाई असर गरेन । किनकी फिल्मलाई दर्शकले रुचाइसकेका थिए । ‘कट्टप्पा ने बाहुबलीको क्यु मारा ?’ यो प्रश्न दर्शकको मनमा थियो । साउथ इन्डियन फिल्ममा मात्र सिमित प्रभास बलिउड हुँदै विश्वभर आफ्नो क्रेज बढाउदै थिए । त्यसपछि प्रतीक्षामा रहेको फिल्म ‘बाहुबली २’ ले विश्वभर झैँ नेपालमा पनि रेकर्ड ब्रेक कमाइ गर्यो ।
त्यसपछि पनि नेपालमा साउथ इन्डियन फिल्मको दर्शक बढेका थिएनन् । बढेका थिए त केवल प्रभासका । तर , केजीएफ , साहो , पुष्पा लगायतका फिल्मले नेपालमा साउथको स्वाद बढायो । फलत दर्शक बढे । भिडियो फिल्म झैँ नेपालमा प्रदर्शन हुने साउथ इन्डियन फिल्महरु रिलिजकै दिन हल आउन थालेका छन् । पुष्पाको अनपेक्षित व्यापार पश्चात खिलाडी , वलीमै , राधेश्याम नेपाल आइसकेका छन् । चैत्र ११ मा ‘आरआरआर’ आउदैछ ।
नेपाली दर्शकलाई साउथ फिल्म तर्फ आकर्षित गरेका निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ भएकाले नेपालमा पनि उत्तिकै प्रतिक्षित छ । यसको असर फिल्मले पाएको शो र भइरहेको बुकिङमा देखिएको छ । फिल्मको टिकेट नै काट्नु पर्ने गरी सोमबारबाटै यसको शोहरु खुलेका छन् । दर्शकहरु आफ्नो उपयुक्त समयमा धमाधम टिकेट लिईरहेका छन् । मल्टिप्लेक्सहरूमा शोहरू शुक्रबार अगाडि नै सोल्ड आउट हुने सम्भावना बढेको छ ।
टुडी र थ्रीडी प्रविधिमा रिलिज हुने फिल्मले क्युएफएक्सअन्तर्गत लबिम मलमा आठ शो, सिभिल मलमा चार शो, ठमेलमा रहेको छायाँ सेन्टरमा सात शो, क्युएफएक्स भक्तपुरमा आठ शो थ्रीडीमा पाएको हो । क्युएफएक्सअन्तर्गतकै मोफसलमा रहेको थियटरमा पनि यसले राम्रो शो पाएको छ । क्युएफएक्सको विराटनगरमा पाँच शो, क्युएफएक्स बुटवलमा चार शो, क्युएफएक्स जालमा नारायणघाटमा चार शो, क्युएफएक्स विर्तामोडमा चार शो, क्युएफएक्स दमौली तीन शो पाएको छ ।
यस्तै टुडी प्रविधिमा क्युएफएक्सकै नेपालगन्जमा रहेको बागेश्वरी फिल्मलाई पाँच शो, क्युएफएक्सकै बुटवलमा रहेको हलमा चार शो, विर्तामोडको वान स्टप सिनेमाजमा पनि यसले चार शो पाएको छ । क्युएफएक्सअन्तर्गतको काठमाडौँमा भक्तपुरमा दुई, छायाँ सेन्टर ठमेलमा दुई र लबिम मलमा एक शो पाएको छ । राजधानीमा रहेको अन्य मल्टिप्लेक्सहरूमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजले न्युज तयार पार्दासम्म शो पब्लिस गरेको छैन ।
दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ६ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा पाँच शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा सात शो, बानेश्वरस्थित आइप्लेक्समा रहेको वान सिनेमाजमा सात शो, आइएनआइ सिनेमाअन्तर्गत लोत्से मलमा आठ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा १० शो छ ।
फिल्म नेपालमा ए एट फिल्मसले अहिलेसम्मकै महँगो रकममा ल्याइएको बताइएको छ । कम्पनीले जनाएअनुसार फिल्म एक सय २१ बढी पर्दामा शो हुनेछ । कम्पनीका वितरण प्रमुख नवीन शाक्यले शो आजभोलिमा अझै बढ्ने बताए । ‘फिल्मको लम्बाइ तीन घन्टा रहेकाले पनि केही शो घटेका छन् । यद्यपि आउँदो शुक्रबारसम्म शो बढ्ने छ, किनकि सम्पूर्ण हलले फुल शो पब्लिस गरेका छैनन्,’ नवीनले भने ।
लागत चार सय करोड बढी भएका कारण पनि आरआरआर चर्चामा छ । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिजपछि निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टिआर र रामचरणको अभिनय रहेकाले पनि यो प्रतीक्षित छ । यसमा बलिउडका कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि छिन् । यसैले गर्दा यो प्रतीक्षित फिल्म बिग बजेटको फिल्म बनेको छ । बाहुबलीपछि दर्शकमाझ आउन लागेका निर्देशक राजमौलीबाट धेरै अपेक्षा गरिएको छ ।










