फिल्म । मङ्सिर २२ देखि काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २० औं संस्करण सुरू हुने भएको छ । मह सिकारीको कथा प्रस्तुत गर्ने फिल्म ‘बाघको बंगारा’ प्रिमियर गर्दै सुरू हुने महोत्सव २६ गतेसम्म चल्नेछ । किम्फमा ३० मुलुकका ६० भन्दा बढी फिल्म प्रदर्शन गरिनेछन् । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने फेस्टिभलमा यसपटक दुई दर्जन अन्तर्राष्ट्रिय फिल्ममेकर सहभागी हुनेछन् ।
यसपटक भौतिक रुपमा हुने लागेको फेस्टिभल अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण हाइव्रिड शैलीमा गरिएको थियो । यसपटकको संस्करणको मूल नारा दिगो आरोहण राखिएको छ । जलवायु परिवर्तन र वातावरणीय संकटले हिमाल आरोहणमा ल्याएको चुनौतिलाई लक्षित गर्दै यो नारा तय गरिएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताइन् ।
फिल्म स्क्रिनिङबाहेक नेपाली फिल्मको भविष्य, फिल्ममा तन्नेरी पुस्ता र फिल्ममा बालबालिकाजस्ता विषयमा फिल्मकर्मीबीच सामूहिक छलफल समेत हुनेछ ।जर्मन लेखक तथा निर्माता माइकल पज, नेपाली फिल्म निर्माता तथा एनिमेटेड अगुवा किरणभक्त जोशी र दक्षिण कोरियाको अल्जु पर्वतीय फिल्म फेस्टिभलकी प्रोग्रामर जिन्ना ली जुरीको रुपमा किम्फमा यसपटक हुनेछन् ।
फेस्टिभलबाहेक यसपटक विभिन्न मुलुकका पर्वतीय फिल्म महोत्सवहरुको अलायन्स (आईएएमएफ)को साधारणसभा पनि काठमाडौंमा हुनेछ । उक्त संगठनका २८ सदस्य राष्ट्रको सहभागिता सभामा हुने जानकारी किम्फले दिएको छ । किम्फ आयोजकको रुपमा हिमाल एसोसिएसन छ भने सहआयोजकमा काठमाडौं महानगरपालिका छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कमलकुमार निर्देशित फिल्म सञ्चारकर्मीलाई देखाइयो । टेलिभिजन कार्यक्रम ‘हेर्ने कथा’की सञ्चालिका विद्या चापागाईंले निर्माण गरेको फिल्म प्रदर्शनपछि अन्तरक्रिया समेत गरियो । उत्तरी जाजरकोटका स्थानीयले लामो यात्रापछि अक्कर भीरमा चढेर गर्ने मह सिकारको कथा फिल्मले पेस गर्छ । गैरआख्यान श्रेणीको यो फिल्मले मह सिकारको लागि हिमाली भेगका बासिन्दाले गर्ने दुःख र मिहिनेतलाई चित्रण गर्छ । फेस्टिभलको समापन चाहिं अस्ट्रेलियाली प्याराग्लाइडरले पोलियो रोगविरुद्ध सहायता जुटाउने उद्देश्यले सगरमाथाबाट प्याराग्लाइड गर्ने कथावस्तु बोकेको फिल्म ‘फ्लाइ फ्रम एभरेस्ट’बाट हुनेछ ।











