मण्डला थियटरमा ‘निटफेस्ट २०२२’ सुरू

रङ्गमञ्च । काठमाडौंमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को दोस्रो संस्करण सुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गर्दै सुरू भएको महोत्सवमा ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका दिइएको छ । नौ दिनसम्म थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा चल्ने महोत्सवले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास मन्त्री श्रेष्ठले व्यक्त गर्नुभयो ।

महोत्सवमा सहभागिता जनाउन भारतबाट नेपाल आइपुग्नु भएकी ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमीले रङ्गकलाकर्मीको सहभागितामा बनेको मण्डला थियटरको प्रसंशा गर्नुभयो । महोत्सवकी निर्देशक सिर्जना सुब्बाले कोभिडको कारण तीन वर्षपछि दोस्रो संस्करण आयोजना भएको जानकारी दिनुभयो । उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, कलाकार सरोज खनाल, नाट्यकर्मी अनुप बराल, दयाहाङ राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ‘इन्द्रधनुष’ नामक नाटकसंग्रहित पुस्तक समेत विमोचन गरिएको थियो । १२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरीबाट दुईसय भन्दा बढी नाट्य कलाकारहरु सहभागी छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

कमेन्ट गर्नुहोस्