चितवनमा ‘महापुरूष’ प्रिमियर

फिल्म। गत आइतबार काठमाडौंमा वर्ल्ड प्रिमियर गरेर वाहवाही बटुलीरहेको फिल्म ‘महापुरूष’ ले मोफसलमा प्रिमियर अन्तर्गत चितवनमा प्रिमियर गरेको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत कत्तिक ८ गते चितवन स्थित सिनेप्लेक्समा प्रिमियर भएको हो । दुवै पर्दामा भएको प्रिमियरमा चार सयले फिल्म हेरका छन् ।कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले मोफसलका सञ्चारकर्मी र फिल्म प्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए ।

‘प्रिमियरबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चितवनमा प्रिमियर हुँदा स्थानीय पनि उत्साहित हुनहुन्छ । हामीले मोफसलमा बजार विस्तार गर्न लागेका हौँ’, बानियाँले भने । चितवन प्रिमियरमा निर्माता बानियाँसँगै निर्देशक तथा लेखक प्रदीप भट्टराई मंगलवार सहभागी रहे। आफ्नो फिल्मको मोफसलमा प्रिमियर गर्ने रहर पुराभएको निर्देशक भट्टराईले बताए । ‘मेरो फिल्म मोफसलमा पनि प्रिमियर गरौँ भन्ने चाहना थियो । त्यो यसपटक पुरा भयो’, निर्देशक भट्टराईले भने । फिल्मकै काममा अल्झिने हुँदा मोफसलमा यसअगाडी यस्ता इभेन्ट गर्न नसकिएको उनले बताए ।

बुधवार कात्तिक ९ गते भने फिल्म इटहरीमा प्रिमियर हुँदैछ । पुर्वाञ्चलका दर्शकलाई लक्षित गर्दै इटहरीमा रहेको इलाइट सिनेमामा फिल्मको प्रिमियर गर्न लागिएको हो । इटहरीमा हुने प्रिमियरमा कार्यकारी निर्माता बानियाँ र निर्देशक भट्टराईसँगै अरुण क्षेत्री र अन्जना बराईली समेत सहभागी हुनेछन् । कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने फिल्मको शो समय समेत मल्टिप्लेक्सहरूमा प्रकाशित हुन् थालेको छ । फिल्मको अनलाइन टिकेट बुकिङ गर्न सकिनेछ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय रहेको छ । यहिँ फिल्म मार्फत अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् ।

एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्