फिल्म । स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा रहेर तयार गरिएको सोही नामको फिल्म शुक्रबारबाट प्रदर्शन हुँदैछ । आधुनिकता तर्फ उन्मुख समाजमा निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले प्राचीन नेपाली समाजको कथा लिएर आएका छन् । केहि वर्षको विश्राम पश्चात निर्माण तथा निर्देशनमा कमब्याक गरेका निर्देशक देउजा यसलाई ‘एभरग्रीन कथा’ भन्न रुचाउछन् ।
फिल्म देउरानी–जेठानीको झगडामा केन्द्रित रहेको अनुमान सार्वजनिक ट्रेलर मार्फत गर्न सकिन्छ । यो फिल्ममा केकी अधिकारी र आँचल शर्मा देउरानी–जेठानी बनेका छन् । फिल्मले देउरानी–जेठानीले झिंगे दाउ खेल्ने क्रममा उत्पन्न हुने परिस्थितिका कथा बयान गर्छ । पुरानो समयमा सिक्का राखेर यो दाउ खेलिन्थ्यो र जुन सिक्कामा आएर झिंगा बस्छ त्यो खेल्नेको हुने प्रचलन थियो । त्यहिँ इभेन्टले आउँदो समयमा निर्माण गर्ने घटनाक्रम फिल्ममा देखाइएको छ ।
फिल्ममा आँचल देउरानीको भूमिकामा छिन् । यसकिसिमको भूमिकामा आँचल पहिलो पटक देखिएकी हुन् । म्युजिक भिडियो हुँदै फिल्ममा उदाएकी आँचलले डेब्यु फिल्म यता एकै किसिमको भूमिका निर्वाह गरिन् । उनले आफूलाई क्यारेक्टरमा देखाउन खोजेको उनको यो पहिलो प्रयास हो । ‘मैले फिल्ममा अभिनय गर्नुको कारण नै यसमा आँचल भन्दा पनि क्यारेक्टर देखिन्छ भनेर हो । किनकी मलाइ यस किसिमको भूमिका अफर नै भएको थिएन’ उनले भनिन् ।
त्यसो त आँचलको पुस्ताको कलाकारहरु पुराना फिल्मकर्मीसँग काम गर्न तत्पर देखिदैनन् । पुराना मेकर्सले नयाँ पुस्ताले खोजे अनुसार काम गर्न नसक्ने उनीहरुको गुनासो रहन्छ । यद्दपि आँचल भने फरक देखिने आशमा काम गर्न तयार भइन् । ‘उहाँसँग काम गर्दा फिल्म र भूमिकालाई फरक ढंगले बुझ्ने मौका पाए । उहाँ निर्माता भएपनि निर्देशक हावी थियो । कहिँ कतै सम्झौता गरेको पाइन् । आफ्नो कलाकारलाई सँग काम लिने शैली उहाँमा गज्जब को छ’ आँचलले भनिन् ।
आँचललाई पनि सुरुवाती समयमा ज्ञानेन्द्रसँग काम गर्दा केहि असहज नभएको होइन । कृतिमा आधारित फिल्म भएकाले एउटा परिधि थियो नै साथै उनले स-सानो सिन पहि रिहल्सल गरेर देखाउनु पर्थ्यो । यसले उनलाई सुरुवाती दिनमा सहजता दिएको थिएन । ‘मलाइ हिडेर आउने सिन देखाउ त भन्नु हुन्थ्यो । ह्या हिड्ने पनि के रिहल्सल गर्ने र ! भन्ने लाग्थ्यो । यद्दपि उहाँको काम गर्ने शैलीले मलाइ नै फाइदा पुग्यो । स-सिनलाई पनि निकै ख्याल गर्ने पर्फेक्ट पाएँ’ आँचलले भनिन् ।
सहरिया जीवनशैलीमा रहेकी आँचलले फिल्ममा गाउँले युवतीको भूमिका निर्वाह गरिन् । कोरोना भाइरसको महामारी पश्चात उनले आफूमा परिवर्तन महसुश गरेकी छिन् । घर बसको समयमा विश्वका फिल्महरु हेरेर आफ्नो सोच्ने शैलीमा परिवर्तन आएको बताउने आँचल फिल्ममा भने ‘डिरेक्टर्स एक्टर’ भएको बताइन । ‘मैले पछिल्लो समय फिल्म बुझ्ने चेतनामा फरकपन महसुश गरेकी छु । यद्दपि म फिल्म गर्दा भने निर्देशकको अनुसार नै आफूलाई प्रस्तुत गर्ने गरेकी छु । मैले गाउँले युवतीको रुपमा प्रस्तुत हुँदै गर्दा पनि निर्देशककै अनुसार र मैले आफूले सक्ने किसिमले प्रस्तुत हुने कोसिश गरेकी छु’ उनले भने ।
यद्दपि ओटीटीको दर्शक बढेसँगै चुनौती निकै थपिएको उनले महसुश गरेकी छिन् । ‘हामी मात्र नभई दर्शक पनि एडभान्स भइसकेका छन् । अब हामीले वा म आफैँ परिवर्तन नभए आउँदा दिन सहज हुदैन । किनकी अब फिल्म प्रतिको चेतना निकै बढिसकेको छ । मैले पनि कोरोना भाइरस पश्चातको समयमा गर्ने फिल्ममा परिवर्तन ल्याउने कोशिस गरेकी छु’ उनले भनिन् । उनले पछिल्लो समय पाउने स्क्रिप्टमा आफ्नो क्यारेक्टरसँगै स्क्रिप्टको उदेश्य , त्यसले पार्ने प्रभाव सबैलाई हेर्छिन् ।
आँचलले यो फिल्म विवाह अगाडी गरेकी थिइन् । विवाह पश्चात उनले श्रीमान उदीप श्रेष्ठको घरमा बुहारी , श्रीमती , देउरानीको रुपमा प्रस्तुत भइन् । उनलाई फिल्मको क्यारेक्टरले केहि सहयोग गर्यो त ? आँचल भन्छिन् परिवारलाई बुझ्न सहयोग गर्यो । ‘एउटा परिवारमा स-साना कुराले कसरी समस्या उत्पन्न गर्न सक्छ भन्ने विषयमा सजग बनायो । किनकी यो सब मेरो लागि नयाँ थियो’ उनले भनिन् ।
त्यसो त क्यारेक्टर देखाउने भनिएपछि गाउँले बनाउने चलन बढ्दो छ । अनि गाउँले भनेपछि अभाव देखाउने अवस्था पनि । यद्दपि क्यारेक्टर देखाउन गाउँले नै नहुनु पर्ने आँचलको बुझाइ छ । ‘हामीले गाउँले भन्ने वितिकै सोच्ने इमेजमा अब परिवर्तन गर्न पर्छ । गाउँले भन्ने वितिकै हामीले फिल्ममा देखाइरहेका क्यारेक्टरहरु मात्र हुदैनन् । उनीहरु हामी भन्दा एडभान्स पनि छन् । यद्दपि हाम्रो फिल्म कृतिमा बनेकाले त्यहिँ परिवेशलाई देखाएका हौँ’ आँचलले भनिन् ।
कृतिमा भएकाले उनले ‘झिँगेदाउ’ मा पढेको क्यारेक्टर र निर्देशकले देखेको पात्र भन्दा बाहिर जान सकिनन् । ‘कृतिमा आधारित भएकाले हामीले पात्रलाई लेखक र निर्देशकको बुझाइ भन्दा बाहिर जाँदा विग्रिने सम्भावना हुन्छ । यद्दपि कलाकारको लागि एउटा निश्चित सिमा हुनु राम्रो होइन । तर कृतिमा सिमाना भन्दा बाहिर जाँदा क्यारेक्टर छुट्छ’ उनले भनिन् । यो फिल्मले आमा र दुई दाजुभाइको कथा पनि पेश गर्छ । फिल्ममा कुशल बिष्ट भाइ बनेका छन् । फिल्ममा हिउँवाला गौतम, संगम भण्डारी, आयान खड्का र अभय बरालको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्ममा पटकथा प्रदीप भारद्वाजको रहेको छ ।
कृति ‘झिँगेदाउ’मा आधारित फिल्मले दुई दाजुभाई र देउरानी-जेठानीको पारिवारिक झमेलाको कथा भन्छ । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ ।सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सह – निर्माण छ ।











