मल्टिप्लेक्सहरुलाई प्रदीपको व्यंग : ‘नेपाल भन्दा प्रकाशलाई विदेशमा बढी शो’

फिल्म । ‘प्रेम गीत’ मार्फत दर्शक माँझ प्रेमको उपनाम स्थापित गर्दै स्टार बनेका अभिनेता प्रदीप खड्काले पछिल्लो फिल्म ‘प्रकाश’ मा स्टारडमबाट बाहिर निस्किने प्रयाश गरेका छन् । फिल्म हेरिरह्दा उनी प्रदीप वा प्रेम भन्दा पनि प्रकाश देखाउन मेहनत गरे । त्यो सफल पनि भयो । फिल्मको प्रिमियर मार्फत उनले राम्रो प्रतिक्रिया बटुले । फिल्ममा प्रदीप वा प्रेम भन्दा पनि ‘प्रकाश’ हावी भएको छ ।

फिल्ममा उनले जुम्लाको एक निम्नवर्गीय युवकको भूमिका निर्वाह गरेका छन् । शिक्षक बनेपछि सम्मान पाइने हुँदा उनको सपना शिक्षक बन्ने छ । यद्दपि राज्यव्यवस्थामा मौल्याएको भ्रष्टाचार प्रकाशको सपनामा तगारो बनेको छ । आफ्नो स्टारडमलाई साइड लगाएर अभिनेता बन्न प्रयाश गरेका प्रदीपले दुखेसो गरेका छन् । नेपालसँगै विदेशमा प्रदर्शन हुने फिल्मको शो नेपालमा निकै कम छ ।

विदेशी फिल्म भित्रिएपछि नेपाली फिल्मले कम शो पाउने परम्परा प्रति उनको दुखेसो छ । ‘प्रकाशको शो नेपाल भन्दा बाहिर बढी छ । हामीलाई नेपालमै फिल्म चलाउन गाह्रो छ । हामीले कहाँ गएर फिल्म चलाउने ?’ उनले प्रतिप्रश्न गरेका छन् । उनले नेपाली कथा , मौलिकतालाई साथ् नमिलेको भन्दै दुखेसो गरेका हुन् । ‘हामीले आफ्नै कथालाई पर्दामा ल्याएका छौँ । यस्तो समयमा हौसला मिल्नु पर्ने हो तर हल संचालकबाट हामीले त्यस्तो सपोर्ट पाएका छैनौ’ उनले भने ।

सामाजिक सञ्जालमा समेत उनले आफ्नो दुखेसो साटेका छन् । ‘आफ्नै कथा , मौलिकतालाई ठुलो लगानी गरेर देखाउन खोज्दा खै ? हामीलाई साथ र सपोर्ट ? हाम्रो प्रयाशलाई हौसला दिन सकिन्न र ? अनि हामी नै भन्छौं , हाम्रो कथा पर्दामा आउदैनन्’ प्रदीपले भने । यो फिल्मलाई मल्टिप्लेक्सहरुले अवहेलना गरेको भन्दै विरोध भइरहेको छ । यद्दपि कोहि कसैले आवाज उठाएका छैनन् । विदेशी फिल्मले ७० प्रतिशतको हाराहारीमा शो पाउँदा नेपाली फ्रेस रिलिज दुई फिल्म ३० प्रतिशतको आसपासमा चित्त बुझाउन बाध्य छन् । देशमा परिवर्तन ल्याउन युद्ध लडेर शहिद भएका व्यक्तिको परिवारले सिस्टम र समाजबाट भोग्ने समस्यालाई फिल्ममा चित्रण गरिएको छ । योगता हुँदा हुँदै पनि जातीय तथा वर्गीय विभेदले निम्त्याउने अवस्था पनि फिल्ममा छ । दिनेश राउतको निर्देशनमा तयार फिल्ममा महेन्द्र अधिकारीको लगानी रहेको छ ।

मनोज जोशी निर्माण नियन्त्रक रहेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । विकास सुवेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्