‘महापुरूष’ सँग अरुण

फिल्म । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । ‘महापुरूष’ को रुपमा हरिवंशलाई चित्रण गरिएको फिल्मको नयाँ पोस्टर सार्वजानिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको हो । सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउदै गरेको देख्न सकिन्छ । उनको पछाडी हरिवंश रहेका छन् । उनीहरु बाइकमा गुड्दै गर्दा स्पीड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई पोस्टर बनाइएको छ । उनले फिल्म विज्ञानको भूमिका निर्वाह गरेका छन् । उनी फिल्ममा हरिवंशका कान्छा छोरा हुन्छन् ।

उनी फिल्ममा अडिसन मार्फत सेलेक्ट भएका हुन् । ‘मैले फिल्ममा काम गर्ने सोच बनाएपछि नै केहि मेकर्ससँग काम गर्छु भन्ने सपना बोकेको थिएँ । त्यसमध्ये एक रविन्द्र दाई र प्रदीप दाई सहितको टिम थियो । उहाँहरुसँग जोडिन पाउँदा निकै उत्साहित छु’ अरुणले भने । फिल्मका निर्मातासँगै कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँले क्यारेक्टर चाहिएको जानकारी दिएपछि कास्टिङ डिरेक्टरको रुपमा काम गर्ने थियटर आर्टिस्ट सुदाम सिकेले नै अरुणको बारेमा जानकारी दिएका थिएँ ।

‘हामीले क्यारेक्टर चाहियो भनेपछि सुदामले अरुणको बारेमा जानकारी दिए । पछि अडिसन भयो । उनले भूमिकालाई जीवन्त बनाएपछि हामीले सेलेक्ट गरेका हौँ’ बानियाँले भने । अडिसनमै अरुण अन्तिम समयमा पुगेका थिए । ‘म लगभग अन्तिममा पुगेको थिए । हरी बासँग मैले दृश्य गरेर अडिसन दिनु पर्ने थियो । त्यो नै मेरो स्क्रिन टेस्ट पनि थियो । त्यहाँ गरेको अभिनयले मलाइ फिल्ममा सेलेक्ट गरायो’ अरुणले भने ।

त्यसो त अडिसन भएको एकहप्ता पश्चात उनलाई ‘सेलेक्ट’ भयौं भन्ने जानकारी आएको थियो । यद्दपि दोस्रो लकडाउन भएपछि प्रोजेक्ट ढिलीयो । प्रोजेक्ट ढिलो हुँदा अरुणलाई काम गर्न पाइन्छ भन्नेमा शंका लाग्यो । ‘मैले धेरै अडिसन दिएको थिएँ । धेरै अडिसनले मलाई रिजल्ट दिएन । मैले २० भन्दा बढी अडिसन दिएको छु’ उनले भने । त्यसो त अरुणको ‘कन्फीडेन्ट’ ले नै फिल्ममा उनलाई सेलेक्ट गराएको निर्माता तथा कलाकार बानियाँले बताए ।

‘हरिदाईसँग अभिनय गर्दा देखिएको आत्मविश्वासले हामीलाई उनमा कलाकार देखायो । उनले गरिरहेको मेहनत मात्र नभई काम पनि प्रसंसनिय छ । उनले अभिनयमा देखाइएको आत्मविश्वास गज्जब छ । एउटा राम्रो अभिनेता बन्नेछन् , अरुण’ रबिन्द्रले भने । फिल्म सम्बन्धि अध्यन गरेर नै अभिनयमा आएका अरुणले अभिनय गरेको पहिलो फिल्म ‘आइएम ट्वान्टी वान’ हो । यो फिल्म रिलिजको टुङ्गो लागेको छैन । यद्दपि उनले अभिनय गरेको दोस्रो फिल्म ‘महापुरूष’ आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुली लगायतको अभिनय छ ।

फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गरिने छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । कलाकार समेत रहेका रबिन्द्र कथावस्तुले दर्शकलाई छुनेमा विश्वस्त छन् । ‘सामाजिक कथावस्तुमा फिल्म बनाएका छौँ । आफ्नै मौलिक कथा र नाम महापुरूष राखेका छौँ । हामीले अघिल्लो गरेका कामहरु भन्दा यसपटक झनै माझिएका छौँ’ उनले भने ।

फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा किशोर आचार्य , रंग संयोजनमा जुनिम गहतराज र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्