फिल्म । ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक ट्रेलरले उहिलेको नेपाली समाजलाई प्रतिविम्बित गरेको छ । पहिला पहिला सगोलमा बस्दा नेपाली समाजमा हुने देउरानी जेठानीबीचको मपाइँत्वको लडाइँलाई फिल्मले विषय बनाएको छ ।
केकी अधिकारी, आँचल शर्मा , मुकुन भुषाल , कुशल विष्ट , हिउँवाला गौतमको मुख्य अभिनय रहेको फिल्म भिमनिधी तिवारीको यही नामको कथामा आधारित रही निर्माण गरिएको हो । कथालाई पटकथामा रुपान्तरण गर्ने काम प्रदीप भारद्धाजले गरेका हुन् । फिल्ममा केकी अधिकारीले जेठानी र आँचलले देउरानीको भूमिका निर्वाह गरेका छन् । मुकुस भुसाल र कुशल बिष्टले दुवैको श्रीमान्को भूमिका निर्वाह गरेका छन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक देउजाले यो फिल्म बनाउने आफ्नो पुरानो चाहना रहेको बताए । ‘मैले यो कथालाई सिरियलको स्वरूप दिने कोसिश गरेको थिएँ । यद्दपि अहिले आएर फिल्म बनाउने मौका जुरेको हो’ निर्देशक देउजा भन्छन् ,’मैले फिल्म बनाउने भएपछि सानो कथालाई फिल्ममा ल्याएको हुँ ।’ उनले कथासारलाई जीवन्त बनाइ फिल्ममा ढालेको बताए । ‘मेरो मनको नजिकको कथा भएकोले क्यानभासमा परिवर्तन गरेको छु । कथाको मर्म उस्तै छ’ उनले भने ।
विष्णु घिमिरे ‘कल्पित’ले खिचेको फिल्ममा संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बरालको पनि अभिनय छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, मित्रदेव गुरुङको सम्पादन छ । सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेको फिल्ममा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।फिल्म भदौ १७ मा हलमा रिलिज हुँदैछ ।












