फिल्म । नेपाली फिल्ममा ‘आवरण’ बाट उदाएका दिव्य देव थियटरको परिचित नाम बनिसकेका छन् । डेब्यु फिल्ममै असफलता भोग्नु परेको दिव्यको अभिनय क्षमताले थियटरमा न्याय पायो । उनले थियटरमा देखाएको अभिनय कौशलताले नै उनलाई धेरै अफर पुर्यायो । यद्दपी उनले फिल्ममा निकै कम गरेका छन् । आउँदो चैत्र ४ मा उनि अभिनित फिल्म ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउदैछ । गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई फिल्ममा प्रस्तुत गरिएको छ । भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिन्स पाल्पालीले भूपिको यही भावमा रहेर फिल्म तयार गरेको बताएका छन् ।
२०७१ सालमै स्क्रिप्टलाई फिल्ममा उतार्ने तय भएको फिल्म बल्ल प्रदर्शनमा आउदैछ । यहिँ फिल्ममा जोडीएपछि दिव्यले ‘रुदाने’ को अफर समेत पाए । ‘मैले यो फिल्म पाएपछि आफुमा परिपक्वता पाए । मैले त्यसपछि छानेको फिल्म र थियटरमा हुने प्लेले पनि मेरो करियरलाई उचाई दिन मदत गरेको छ’ दिव्यले भने । त्यसो त फिल्ममा ‘इन’ हुन् उनलाई सहज थिएन् । उनले अडिसन त दिए नै निर्देशक पाल्पालीको विश्वास जित्न सहज भने भएन । ‘म त्यो समयमा अहिले भन्दा पनि निकै पातलो थिए । त्यसैले गर्दा मैले पाएको क्यारेक्टरलाई न्याय गर्छु कि गर्दिन भन्नेमा निर्देशक केहि आशंकित थिए । उनले निर्णय लिन समय लगाए । यद्दपी मेरो नाटक ह्याम्लेट हेरेकै कारण निर्माता भने विश्वत थिए’ फिल्ममा जोडिएको समयलाई दिव्यले सम्झिए ।
उनले त्यहिँ प्रोसेसले गर्दा फिल्मको ‘कास्टिङ’ निकै बलियो भने बताए । ‘मैले मेरो साथी सर्कलमा फिल्मको कास्टिङको तारिफ सुनेको छु । यो फिल्म के कसो होला , तर हाम्रो फिल्म क्षेत्रले एउटा प्रतिभाववान निर्देशक पाएको छ’ दिव्यले भने । उनले फिल्मलाई दर्शकसम्म ल्याउनु अगाडी खड्किएको हरेक पक्षमा सुधार गर्न खोजेको बताए । ‘हामीले स्वरांकन नै दुइ पटक गरेका छौँ । र , जुन जोशका साथ फिल्म सुरु भएको थियो अहिलेसम्म पनि त्यहिँ उर्जा हामीमा छ’ उनले भने । फिल्ममा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । फिल्म निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा बनाउने अभिलाषामा फिल्म निर्माणमा संलग्न भएको बताए ।
दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । यसमा सह निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन्। निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन्।











