विदेश । केहि दिन यता जारी रुस रयुक्रेनको युद्धबाट प्रभावित नेपालीहरुको उद्धार एवं सहयोगको सम्भावनाबारे छलफल गर्न शनिवार भर्चुअल माध्यमबाट गैरआवासीय नेपाली संघको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको छ । सम्पन्न अन्तरक्रियामा युद्धको चपेटमा परेका नेपाली समुदायको उद्धार रसहयोगको लागि जर्मनीका लागि नेपाल राजदूत रामकाजी खड्काको अध्यक्षतामा ‘रुस – युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन भएको छ ।
गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिहरु समेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी रहेका छन् । द्वन्द्व पिडितको लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा.बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ । अन्तरक्रियामा बोल्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २सय २० जना नेपालीहरु दुतावासको सम्पर्कमा आएको जानकारी दिनुभयो । उहाँले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानिय संघसंस्थाहरुसँग समन्वय गरिरहेको जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । ‘अप्ठ्यारो पर्दा ‘एनआरएनएले नेपालीलाई आपत पर्दा जहाँ पनि सहयोग गर्छ कसैले अभिभावकविहिन हुनु पर्दैन। हामी सहयोगका लागि तयार छौँ ” अध्यक्ष पन्तले भने । कार्यक्रममा गैरआवासीय नेपाली संघ युक्रेनका अध्यक्ष हरि मल्लले युक्रेनमा रहेका नेपालीहरुको अवस्थाको बारे जानकारी दिए ।
अन्तरक्रियामा सीमा क्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेहरुको लागि हवाई टिकटको लागि समन्वयन गर्ने, सीमा क्षेत्रमा आएका नेपालीलाई खाना बस्नको व्यवस्था गर्ने, कानुनी परामर्शको लागि एनआरएनए राष्ट्रिय समिति परिचालन, उद्धारको लागि स्थानिय रुपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकहरुको लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलन गर्ने जस्ता गतिविधि तत्काल अघि बढाउन उच्चस्तरीय समितिलाई आग्रह गरेको छ ।
युक्रेनको द्वन्द्व प्रभावित नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र स्लोभागिकयाको सीमामार्फत उद्घार थालिएको छ । हालसम्म नेपाली दूतावास जर्मनी र एनआरएनएसँग ४ सय जना नेपालीहरु सम्पर्कमा आएको जनाइएको छ ।










