फिल्म । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग प्रेममा रहेका महाठग सुकेश चन्द्रशेखरलाई लिएर नयाँ खुलासा भएको छ । उनले ज्याकलिन तथा अभिनेत्री नोरा फतेहीका अलावा सारा अलि खान, जाह्नवी कपूर र भूमि पेडणेकरलाई पनि उपहार पठाउने गरेको खुलासा भारतीय प्रवर्तन निर्देशनालय ( एनफोर्समेन्ट डायरेक्टरेट )को हालैको छानविनमा भएको हो ।
सुकेश आफूसँग भएको रकमले यी सारा, जाह्नवी र भूमिलाई उपहार पठाउँने गरेको ईडीको अनुसन्धान अनुसार उल्लेख छ । अनुसन्धानका क्रममा लिइएको बयानमा सुकेशले सारा, जान्हवी र भूमिको नाम पनि लिएका थिए । ईडीले सारा अली खानसँग सुकेशले दिएका महंगो उपहारका बारेमा सोधपुछ गरेको थियो। साराले गत जनवरी १४ मा ईडीलाई पत्र लेख्दै आफूले सुकेशसँग कुनै पनि उपहार नलिएको बताए पनि जबरजस्ती फ्रेङ्क मुलर घडी दिएका उल्लेख गरेकी थिइन्। यसैगरी जान्ह्वी कपुरलाई पनि सुकेशले श्रीमती लिना मारिया पलका माध्यमबाट निरासामा पारेका थिए। लिनाले जान्ह्वीलाई १८ लाख रुपैयाँ दिएकी थिइन्। जान्ह्वीले आफ्नो बैंक विवरण पनि ईडीलाई बुझाएकी छन्।
‘महाठग’ सुकेशले भूमि पेडनेकरलाई भने इरानीमार्फत फसाएका थिए। इरानीले सुकेश भूमिको ठूलो फ्यान रहेको बताउँदै सँगै काम गर्न चाहेको कुरा बताएकी थिइन्। भूमिले सुकेशसँग आफूले कुनै पनि उपहार नलिएको दाबी गरेकी छन् । बलिउड अभिनेत्री नोरा फतेहीलाई बीएमडब्लु कार उपहार दिएका थिए। हालै मात्र सुकेशले ज्याकलिनसँगको बोल्ड तस्बिर लिक भएपछि आफू ज्याकलिनसँग सम्बन्धमा रहेको र ज्याकुलिन मनी लन्ड्रिङ मामलामा संलग्न नरहेको दाबी गरेका थिए । सुकेशका अनुसार दुई सय करोड मनी लन्ड्रिङ मामिलामा ज्याकलिनको कुनै संलग्नता छैन ।
एजेन्सी











