खेलकुद । क्लब स्तरीय फुटबलमा आफुलाई अब्बल सावित गर्दै आइरहेका लियोनल मेसीले सिनियर टोलिको कप्तानी सम्हालेता पनि अर्जेन्टिनाको लागि कुनै उपाधि जिताउन नसकेको आरोपको अन्त्य भएको छ । विशेषत फ्यानहरुले ट्रफीसंगै मेसीलाई हेर्न चाहेको लामो समय भइसकेको थियो । जसलाई उनले कोपा अमेरिका २०२१ मा पुरा गरेका छन् । अन्तत: मेसीसंगै उनको देश अर्जेन्टिना अन्तर्राष्ट्रिय उपाधि उचाल्न सफल भएका छन् ।
कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार बिहान भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो । मेसीका लागि अर्जेन्टिनाको जर्सीमा पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो । सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिना मुख्य प्रतियोगिताको पाँच फाइनल पुगेको थियो । जसमा मेसीले चार फाइनलमा खेलेका थिए । तर ती सबै फाइनलमा उपाधि जित्न अर्जेन्टिना असफल भयो ।
अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिकाको उपाधि जितेयता चार पटक र सन् १९९६ को विश्वकप जिते यता एक पटक फाइनलमा स्थान बनायो। सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा लगातार उपाधिविहीन भएपछि सन् २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका थिए। तीन वर्षमा मेसीकै कप्तानीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिना सबैमा उपाधिविहीन भयो। स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीका लागि राष्ट्रिय टोलीमा सन् २००५ मा डेब्यु गरे यता सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २० वर्ष मूनिको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको जर्सीमा हासिल गरेको उपलब्धि मान्नु परेको थियो ।
चारपटक च्याम्पियन्स लिगको, तीनवटा फिफा क्लव विश्वकपको उपाधि, १० वटा ला लिगा उपाधि र ६ वटा कोपा डेल रे उपाधि । विश्व फुटबलका सर्वाधिक सफल खेलाडीलाई प्रत्येक वर्ष दिइने बालोन डि’ ओर अवार्ड उनले ६ पटक आफ्नो पोल्टामा पारेका छन् । समकालीन खेलाडीहरुमा मात्रै होइन, सर्वकालीन खेलाडीहरुकै सूचीमा अग्रस्थानमा छन्, मेसी । मेसीले क्लबमा खेलेजस्तै खेल मुलुकका लागि खेल्दैनन् भन्नु एउटा महान खेलाडी माथि अन्याय हुन्छ । तर यो पनि सत्य हो, मेसीले जसरी आफ्नो क्लबलाई जित दिलाउने गरेका छन्, आफ्नो देशको सन्दर्भमा त्यतिकै अभागी ठहरिरहे । मेसी स्वंयले क्लबमा राखेको कीर्तिमानी जस्तै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि पनि राखेका छन् । मेसी अर्जेन्टिनाका लागि टप स्कोरर हुन् उनले खेलेका १५१ खेलमा ७६ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
कोपा अमेरिका २०२१ का अर्जेन्टिना अपराजित रहँदै उपाधि जित्न सफल भयो। समूह चरणमा चार मध्ये तीन खेलमा जित हात पारेको अर्जेन्टिनाले एक खेल बराबरी खेल्यो। ३४ वर्षीय मेसीका लागि कोपा २०२१ उपाधि जित्ने अन्तिम अवसर ठानिएको थियो। जुन अवसरमा मेसी र उनको टिम अर्जेन्टिना सफल भए। योसँगै मेसी सर्वकालीन महान् खेलाडीको सूचीमा निर्विकल्प अग्रस्थानमा रहन सफल भए। मेसीले अब सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने सम्भावना छ । उक्त विश्वकपको उपाधि उचाल्ने अवसर पाए भने सायद फुटबलमा मेसीको कुनै धोको बाँकी रहने छैन!










