अन्तिम ८ मा स्पेन

खेलकुद । युरो २०२० मा अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा क्रोएसियालाई ५-३ गोलको नतिजामा पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेन क्‍वार्टरफाइनलमा प्रवेश गरेको छ । डेनमार्कमा भएको खेलको निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफमा स्पेनका लागि अल्भारो मोराटा र माइकल ओयर्जाबालले २ गोल गरेपछि स्पेनले ५-३ को जित सुनिश्चित गर्‍यो ।

स्पेनको जितमा पाब्लो साराबिया, सिजर एज्पिलिक्युएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयर्जाबालले एक/एक गोल गरे । खेलको २० मिनेटमा स्पेनका गोन्जालेजले आत्मघाती गोल गर्दा क्रोएसियाले खेलमा अग्रता लियो । ३८ मिनेटमा स्पेनका साराबियाले बराबरी गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो । ५७ मिनेटमा सीजर अज्पीलिक्वेतालले गोल गर्दै स्पेनलाई २-१ गोलले अघि बढाए । ७६ मिनेटमा फेरान टोरेशले स्पेनका लागि तेस्रो गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो।

त्यसपछि क्रोएसियाले दुई गोल गर्दा निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकियो। क्रोएसियाका लागि ओर्सिकले ८५ र पासालिकले इन्जुरी टाइममा गोल गरेका थिए। मोराटाले खेलको १०० र ‍ओयर्जाबाजले १०३ मिनेटमा गोल गर्दा स्पेन विजयी भएको हो। पराजयसँगै विश्वकप २०१८ को उपविजेता क्रोएसिया अन्तिम १६ बाटै बाहिरिएको छ भने स्पेनले अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्