चितवनमा ‘स्टार क्रिकेट २०२१’

फिल्म । ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले जनस्तरको सहयोगमा चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यही माघ २४ गते ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ । रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगितामा देशका चर्चित कलाकार तथा खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गर्नेछन् ।

केहि समय यता सामाजिक सञ्जाल मार्फत आयोजकले ‘स्टार क्रिकेट’ को बारेमा जानकारी गराइरहेको थियो । यसैबीच उक्त च्यारिटी खेलमा पारस खड्का, दीपक विष्ट सहितका खेलाडीहरु साथै सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, सन्दीप क्षेत्री, प्रमोद खरेल, रामकृष्ण ढकाल, नम्रता श्रेष्ठ, बेनिशा हमाल, बद्री पंगेनी, प्रकाश सपुत लगायतका कलाकारहरुले क्रिकेट खेल्ने जानकारी राजधानीमा पत्रकार सम्मेलन गर्दै गराइयो ।

दुई समुहमा बाँडिएको क्रिकेट प्रतियोगिताको एउटा समुहलाई धुर्मुस र अर्को समुहलाई सुन्तलीले नेतृत्व गर्नेछन् । ४० भन्दा बढी सेलिब्रेटीहरुको सहभागिता रहने ‘स्टार क्रिकेट २०२१’ बाट उठेको सम्पूर्ण रकम क्रिकेट रंगशाला निर्माणका लागि प्रदान गरिने आयोजक संस्था गृष्मा ब्रोडकास्टिङले जानकारी दिएको छ । चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने योजना अनुसार ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले आर्थिक अभावका बीच पनि रंगशाला निर्माणको कार्य तिब्र गतिमा अघि बढाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्