‘सरकार उत्तरदायी नहुँदा अलमलमा फिल्म क्षेत्र’

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण सिर्जित अवस्थाले गर्दा बन्द रहेको फिल्म हल पौष १० देखि खुलेको छ । नेपाल सरकारले फिल्म खोल्ने अनुमति नदिएता पनि चलचित्र संघले अन्य विभिन्न क्षेत्र खुलिसक्दा हल खोलेको हो । फिल्म हल खुल्नु अगावै छायांकन र फिल्म निर्माणका गतिविधि बढ्न थालेका छन् । लकडाउन सकिएपछी विशेषगरि म्युजिक भिडियो निर्माणले तिब्रता पाएको छ ।

फिल्म हल खुलेसँगै नयाँ फिल्म रिलिजको घोषणा पनि भइरहेको छ । यसै सन्दर्भमा फिल्म क्षेत्रलाई चलायमान बनाउन अपनाउनु पर्ने विषयलाई खोतल्दै चलचित्र पत्रकार संघ दाङ शाखाले ‘चलचित्र बहस’ नामक अन्तरक्रिया गरेको छ । बहसमा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष डाक्टर अमर गिरी, प्रदर्शक ललित श्रेष्ठ , निर्माता रोहित अधिकारी , कलाकारसँगै निर्माता तथा निर्देशक रहेका मुनाल घिमिरे लगायतको सहभागिता रहेको थियो ।

बहसमा डाक्टर गिरीले फिल्म हल अन्य क्षेत्र झैँ आवश्कीय नभएकोले सुरक्षाको प्रत्याभूतिमा जोड दिनु पर्ने बताए । ‘अन्य क्षेत्र जस्तो फिल्म हलमा भिड हुन् समय लाग्छ र त्यसका लागि प्रदर्शकहरुले सुरक्षित रहेको अनुभूति दिलाउन सक्नु पर्छ’ उनले भने । उनले सुरक्षा सम्बन्धि मापदण्डको विषयमा बोर्डले नियमन गर्नु पर्ने धारणा समेत राखे ।

यस्तै , गाजलु र छ माया छपक्कै निर्माता अधिकारीले कोरोना निर्मुल नभएसम्म निर्माताहरु लगानीमा जोखिम देखिरहेको औल्याए । निर्माता संघका कार्यसमिति सदस्य समेत रहेका अधिकारीले दर्शकलाई हलसम्म ल्याउन निर्मातासँगै वितरण र प्रदर्शनको पक्ष एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिए । ‘यस क्षेत्रलाई लिएर राज्य अझै गम्भीर छैन , हामीलाई अनुदानद्वारा प्रोत्साहित गरिए राम्रो हुन्थ्यो’ अधिकारीले भने ।

कलाकार घिमिरेले पनि राज्यले तत्परता नदेखाएको भन्दै कमजोरी औल्याए । ‘विकास बोर्डको भूमिका यहाँ कम्जोर देखिएको छ’ घिमिरेले भने ,’हल संचालनमा त अझै गम्भीर हुन् सकेको छैनन् ।’ उनले पनि अधिकारी झैँ अनुदानको प्रसंग जोड्दै विकास बोर्ड र राज्यले विश्वत पार्न सके निर्माताहरु फिल्म दिन तयार रहेको बताए ।

बहसमा बोलिरहेका वक्ताहरु महामारीपछी फिल्म क्षेत्रलाई पहिलेको लयमा फर्काउन समेत सम्पूर्ण पक्षको हातेमालो आवश्यक रहेकोमा जोड दिए । किनकी यहाँ प्रदर्शक र निर्माता उस्तै पिडामा छन् । प्रदर्शक ललित श्रेष्ठले हल बन्द हुदा स्टाफलाई पारिश्रमिक दिन समेत अप्ठ्यारो परेको समस्या औल्याए । उनले दर्शकले हेर्न चाहेको फिल्म नआउँदा सम्म हल खोल्नुको कुनै औचित्य नरहेको बताए ।

चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको चलचित्र बहस विषयक अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाले कोरोना कहरका कारण दर्शक हलसम्म पुग्ने सक्ने अवस्था अझै बनि नसकेको भन्दै कम्तिमा हप्तादिनमा फिल्म रिलिज गर्नु पर्ने औल्याए । शाखा अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शाखाकै निवर्तमान अध्यक्ष धुव्रराज न्यौपाने र सचिव पूर्ण केसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्