‘तीन महिनाभित्र’ खोप ?

देश । आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले तयारी अवस्थामा रहन नेपाललाई सन्देश पठाएको खबर आजको कान्तिपुर दैनिकमा छ । कान्तिपुर दैनिकका अनुसार खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले सरकारलाई जानकारी गराएको हो ।

उक्त जानकारीपछि न्यूनतम ३ प्रतिशत जनसंख्याका लागि आउने खोपको भण्डारण, ओसारपसारलगायत प्रक्रियाको सरकारले थालनी गरेको छ । कोभाक्ससँग खोप सुनिश्चितताका लागि निरन्तर सूचना आदानप्रदान समेत भइरहेको छ । गाभीको सूचनापछि मन्त्रालयले गाइडलाइन, कोल्डचेन, खोप केन्द्र, तालिम, सूचना सम्प्रेषण, खोप लगाउनेको प्राथमिकतालगायतमा पनि तयारी थालेको छ ।

कोभाक्सभन्दा पहिले नै नेपालमा अनुकूल हुने अर्को खोप आए त्यसलाई ल्याउने प्रक्रियाबारे पनि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ । आउँदो मार्चसम्म कोभाक्सबाट न्यूनतम ३ प्रतिशत जनसंख्या अर्थात् ९ लाख जनालाई पुग्ने खोप आउन सक्ने मन्त्रालयको आकलन छ । कोभाक्सले मुलुकको २० प्रतिशत जनसंख्या अर्थात् ६० लाख जनालाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्घता जनाएको थियो । नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायत विभिन्न काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या २ लाख ५० हजारदेखि ३ लाखसम्म रहेको मन्त्रालय स्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्