देश । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको एक सय सातौँ जन्मजयन्ती सर्लाहीमा पनि मनाइएको छ । कोरोना भाइरसले सिर्जित अवस्थालाई मध्यनजर गर्दै जिल्लामा लागु गरिएको मापदण्ड अनुसार विपी जन्मजयन्ती मनाइएको हो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।
विपी विचार र मार्गदर्शन लाइ सशक्त गर्दै तिब्र संगठन गरिरहेको विपिकोइराला युवा मञ्च सर्लाहीले विपी जन्मजयन्तिलाई असहायलाई सम्मान, अन्तरक्रिया र वृद्ध आश्रममा शरण लिएर बसिरहनु भएका वृद्ध आमा बुवालाई सम्मान गर्दै मनाएको हो । विपिकोइराला युवा मञ्च सर्लाही संयोजक मनोज बख्रेलको नेतृत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नगरसमित ,क्षेत्रिय समित, जिल्ला कार्यसमिति, नेपाल तरुण दल, नेपाल विधार्थी संघ सर्लाही लगायतको सहभागिता रहेको थियो ।
मञ्चका अध्यक्ष बख्रेलले वीपीकै विचारलाई अनुसरण गर्दै जयन्ती मनाएको बताए । ‘हामीले हाम्रो विचार युवासम्म पुर्याउन अन्तरक्रिया गरेका छौँ । सहयोगी हात अगाडी बढाउदै सहयोग पनि प्रदान गरेका छौँ’ मनोजले भने । केहि समय अगाडी मात्र मञ्चको सर्लाही संयोजक बनेका बख्रेलले आउँदो दिनमा विपीको विचारसँग युवालाई जोड्ने कार्यक्रममा ल्याउने पनि बताए ।
विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए ।विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।
विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो । विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।
साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन् दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् । नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ । कोइरालाको निधन २०३९ साल साउन ६ गते भएको थियो ।








