जनक खड्का युवा ज्योतिष एवं फिल्म लेखक, निर्देशक
‘जीवन के हो ?’ अनुत्तरित प्रश्न ! हाल नेपालमा राजनैतिक कारण वा विविध परिस्थितिले आम जनताले जीवनसँग निराश हुँदै गरेको पाइन्छ । राजनैतिक दल र देश र जनतासँग खेलेको खेलले आम जनमानसमा निराशा बढाएको छ । आखिर जीवन प्रति गुनासो बढ्दै गएको छ । ‘आखिर के हो त जीवन ?’ जन्म र मृत्यूको दुरी हो या कर्मको खेल हो ? स्वार्थले बचाउछ । मायाले जोड्छ । धर्मले आशा जगॉउछ र विश्वासलाई जोगाउछ । हामीले जे देख्छौ वा भोग्छौ त्यही हो जीवन । जसले जे सोच्छ त्यही त हो जीवन ।
धर्मशास्त्र र ज्योतिष शास्त्रमा पनि जीवनको परिभाषा या कल्पना अलग अलग गरिएको छ । विद्वानहरूविच पनि फरक फरक मत छ । कसैले भन्छन् हाम्रो जीवनको निर्देशक परमात्मा हो । हामी कल्पनामा रमाइरहेका छौ । एउटा कल्पनाको सुन्दर संसार युटोपियामा पुग्न आत्तिएका छौ । सबै भित्र फरक मन फरक गुण फरक बाटो छ ।
वास्तवमा हामी अभिनय गरिरहेका छौ । निर्देशक अर्कै छ । धर्मशास्त्र मले सपनालाई शरिर सुतेपछि आत्माले मस्तिष्कसँग गर्ने वातर्तालाप हो । जसबाट जीवनको भविष्य निर्धारण हुन्छ । निर्देशकले जब हामीलाई आजको अभिनयको स्कृप्ट (लेखान्त) राती सपनामा देखाउछ । फरक भाषामा जसलाई हामी सपना पनि भन्छौ । सपनामा हामीलाई निर्देशन हुन्छ । विपनामा हामी त्यै रोल प्ले गर्छौ। कहिले दुःखको सिन त कहिले सुखको सिन । कहिले जन्मको सिन त कहिले मृत्युको सिन । कहिले हस्पिटल कहिले स्कुल, कहिले जागिर कहिले ब्यापार । चुनौतीहरू बारम्बार दोहोरिरहन्छ । तर विज्ञानको मत भने फरक छ ।
विज्ञानले पनि काम, क्रोध, लोभ र मोहलाई जीवनको अंगको रूपमा स्वीकार्छ । तन्त्र शास्त्रले जीवनको चक्रलाई स्वीकार्छ तर दुर्घटनामा पर्नु वा आत्महत्या गर्नुलाई भौतिक देहको त्यागमात्र भएको र उसले पुरै जीवन अदृश्य रूपमा भ्रमभित्र रहेर गुजार्नै पर्ने बताउँछ ।
ज्योतिष शास्त्रले पनि जीवनलाई पूर्व जन्मसँगको काम र त्यसको फल भुक्तान गर्न जन्म भएको भनेको छ । जस्तो मानिसको चिना अर्थात जन्मकुण्डलीमा पञ्चमेष सातौ घरमा राहु र शुक्र, बुध हुनु सप्तमेश पीडित भएर लग्नमा बस्नु । सातौ वा दशौ घरमा शश नामक शनी ग्रहले बनाउने पञ्चमहापुरूष योग बनेन भने उसले पूर्वजन्ममा आफूले पत्नीलाई हत्या गरेको र यो जन्ममा अन्तरमुखी (खुलेर कुरा नगर्ने) पत्नी हुने, अवैध सबन्ध हुने, दुई भन्दा बढि विवाह हुने, दाम्पत्य जीवनमा असफलता आदि दोष हुने हुन्छ भनिएको छ ।
वास्तवमा जीवनको खोज गहन कुरा हो । जीवनमा असफल हुने अनेक कारणहरू छन् । जसमध्ये सल्लाह पनि एक हो, असफल मान्छेहरू कि कसैसँग सल्लाह लिदैनन्, कि सबैको सबैको सल्लाह लिन्छन् । कतिपय मान्छेहरूले आफ्नो दोष र गल्तिलाई भाग्यसँग दोष दिदै बस्ने वा फरक कल्पनामा डुब्ने जस्तो अमेरिकामा जन्मिएको भए आदी । तर नेपाललाई धर्मशास्त्रले पनि नेपाललाई उत्कृष्ट भूमि भनेको छ ।
जस्तो स्कन्दपुराणले नेपाल महात्म्य बताउँदै, ‘नेपालं च महाक्षेत्रं भुक्ति मुक्ति फलप्रदम्’ । नेपाल भोग र मुक्ति दिने महाक्षेत्र हो भनेको छ | नेपाल भूमि देउताहरुको लागि पनि दुर्लभ भएको जनाईएको हुँदा संस्कृत साहित्यका आदिकवि महर्षि वाल्मीकिले रामायण रचना गर्दा नारदलाई कहाँ बसेर म यो काव्य रचु, कहाँ पुग्दा वाग्भिभूति पाउँछु , कुन ठाउँ उपध्रो रहित छ ? जहाँ मैले मन स्थिर गर्न सक्छु भनेर प्रश्न गर्दा नारदजीले नेपालमा बसेर रामायण रचना गर्ने सल्लाह दिएको प्रसङ्ग उल्लेख भएको देखिन्छ |
जीवन के हो भन्ने विषयमा सोच्दै गर्दा केही समय पहिले मैले एउटा गजल लेखेको थिए ।
जीवन एक अनुभव हो, बुन्दै जानुपर्छ । जीवन एक अवसर हो, चुन्दै जानुपर्छ ।।
बदलिनुपर्छ त्यसलाई निरन्तर उपयोग गर्नुपर्छ । जीवन रेडियो नाटक हो, सुन्दै जानुपर्छ ।।
खाली पाना भन्छन्, कोही पानी हो भन्छन् । जीवन एक आनन्द हो, गुन्दै जानुपर्छ ।।
जीवन खोज हो, जीवन सोच हो । जीवन फूल हो, माला उन्दै जानुपर्छ ।।
प्रत्येक जीवित प्राणीमा भएका रहस्यमय शक्ति, धार्मिक शास्त्रहरू र दार्शनिक ग्रन्थहरूदेखि लिएर किताब र चलचित्रहरूका मनमोहक कथाहरूसम्म विभिन्न क्षेत्रहरूमा गहिरो चिन्तनको विषय भएको छ । विद्वानहरूले दुवै प्राचीन र आधुनिक, जीवन वास्तवमा के हो ? भन्ने प्रश्नसँग जुध्न थालेका छन् ।
विश्वव्यापी धार्मिक परम्पराहरूमा उदाहरणका लागि, इसाई धर्मले जीवनको पवित्रतालाई ईश्वरीय वरदानको रूपमा हेरेर जोड दिन्छ । हिन्दु धर्मले जीवनलाई जन्म, मृत्यु र पुनर्जन्मको निरन्तर चक्रको रूपमा चित्रण गर्दछ । बुद्ध धर्मले दुःखको चक्रबाट ज्ञान र मुक्ति खोज्न आग्रह गर्दछ ।
त्यस्तै चलचित्रले मानव अनुभवको ऐनाको रूपमा मान्छेको सोचलाई देखाउछ । वास्तवमा चलचित्र पनि एउटा सपना हो । जस्तो विश्वकै चर्चित हलिउड चलचित्र ‘द म्याट्रिक्स’ मा गहिरो तरिकाले सनातन धर्म भित्रको जीवनलाई परिभाषित गर्न खोजेको छ ।
हाम्रो जीवनको उद्देश्य एक नदीको जस्तै कथामा चलेको छ । हाम्रो उद्देश्य समुन्द्रमा पुग्नु हो । हामी पानीको मूल झै जन्मन्छौ। त्यसपछि छरछिमेकी ससाना मुलहरूसँग मिलेर गन्तव्यतर्फ लाग्छौ । यदि हाम्रो साथमा अरू मूलहरू भएनन् भने हामी ठूलो गन्तव्यमा जान सक्दैनौ । त्यसको लागी हामीलाई साथीभाइ परिवार ईस्टमित्रको आवश्यकता पर्दछ । त्यो सँगै हामी जीवनको गन्तव्यमा लाग्छौ नदि जस्तै । जस्मा कोही सुक्दै जान्छ । कोही थपिदै जान्छ। सम्बन्धहरू पनि त्यस्तै हुन्छ । कोही जुट्दै जान्छन् कोही फुट्दै जान्छन् । आशा जागा अवस्थाको सपना हो । मानिस भएर कहिल्यै हिम्मत हार्नु हुँदैन किनकी पहाडबाट निस्केको खोलाले नदिलिई कहिल्यै सोधेको छैन कि ‘समुन्द्र कहाँ पर्छ?’
लेखक युवा ज्योतिष एवं चलचित्र लेखक, निर्देशक जनक खड्का हाल प्रसारणको तयारीमा रहेको सनातन धर्मसंबन्धि कार्यक्रम ‘युटोपिया-एक सुन्दर भविष्य’ का लेखक, निर्देशक तथा प्रस्तोता रहेका छन् । यो उहाँको व्यक्तिगत विचार हो ।










