विदेश । कोरोना भाइरसको खोप बनेको दाबी रसियाले गरिसकेको छ । यसैगरी चीन , बेलायत र अमेरिका पनि आफु निर्मित खोपको अन्तिम ट्राइलमा छ । अर्थात् यसवर्षको अन्त्य वा आउँदो वर्षको सुरुवातसम्ममा खोप ठुलो संख्यामा निर्माण गरिने कम्पनिहरुले बताईरहेका छन् । यद्दपी खोप सबै देशमा पुग्नेमा नागरिक भने विश्वस्त हुन् सकेका छैनन् । नेपालमा पनि खोप कहिले आउछ ? भन्ने प्रश्न उठ्न थालेको छ ।
यसैबीच विकासोन्मुख देशहरुमा खोप उपलब्ध गराउने विश्वव्यापी प्रयास ‘गाभी’ को कार्यक्रम अन्तर्गत कोरोना खोप खरिद तथा वितरणको नेतृत्व युनिसेफले गर्ने भएको छ । विश्वव्यापी ‘कोभ्याक्स फ्यासिलिटी’ का तर्फबाट युनिसेफले उत्पादक तथा साझेदारसँगको सहकार्यमा कोरोना खोप खरिद, ढुवानी, बन्दोबस्ती तथा भण्डारणको नेतृत्व गर्ने भएको हो। कोभ्याक्स फ्यासिलिटी संसारका सबै मुलुकमा खोप पुगोस् भनेर सुनिश्चित गर्न स्थापना गरिएको हो।
कोभ्याक्सका तर्फबाट यसले न्यून तथा न्यून मध्यम आय भएका ९२ देशका लागि ‘पिएएचओ’ कोषसँगको सहकार्यमा खोप किनेर आपूर्ति गर्ने युनिसेफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाभीको न्यून र मध्यम आयका भएका ९२ देशको सूचीमा नेपाल पनि पर्छ। निकट भविष्यमै उपलब्ध हुने कोरोना खोप प्राप्त गर्नबाट कुनै देश वन्चित हुनु नपरोस् भनि कोभ्याक्स फ्यासिलिटी खुला रहेको युनिसेफले जनाएको छ। (एजेन्सी)








